राजविराज, १८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी  मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।

प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो । 

अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल  बिराटनगर तर्फको गोल पोष्टको जाली चुमेपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । 

पहिलो हाफकै ३२औं मिनेटमा बिराटनगरको डिबक्स भित्र पाएको फ्रि किकको फाईदा उठाउँदै मानिथम फुटबल टिमले सुन्दर गोल गर्दै टिमलाई दुई( एकको स्थितिमा पुर्याएको थियो । अत्यन्तै रोमाञ्चक बनेको प्रतियोगिताको दोश्रो हाफको २८ औं मिनेटमा बिराटनगरका ओम चाौधरीले गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्यायो । निर्धारित समय बराबरीमा टुगिंएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो । 

उपाधीसँगै मानिथम क्लबले रु। ५१ हजार नगद तथा कप प्राप्त गरेको छ भने उपबिजेता  बिराटनगर टिमले नगद रु। ३१ हजार तथा कपमा चित बुझाएको छ । 

प्रतियोगिता पश्चात आयोजक समितिका अध्यक्ष दुर्गानन्द चौधरीको अध्यक्षतामा आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा  खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख रिता कुमारी चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष देवनारायण चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । 

खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराद्वारा गत पुस ८ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, उदयपुर, मोरंग तथा सुनसरीका गरी १० टिम सहभागिता रहेको आयोजक समितिका सचिव सन्तोष कुमार पासवानले जानकारी दिनुभयो ।