सिरहा,जेठ १२ गते । बरियारपट्टि छोटी भन्सार पुनःस्थापनाको माग गर्दै सिरहाको जिरोमाईल खण्डमा स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण सयौं गाडीहरु अलपत्रमा पर्दा यात्रुहरु सास्तीमा परेको छ । आन्दोलनकारीहरुले सरकार विरुद्ध चर्का नारा लगाएको थियो ।
भन्सार बन्द हुँदा स्थानीय व्यापार व्यवसाय प्रभावित हुनुका साथै सीमावर्ती क्षेत्रका नागरिकलाई समस्या भएको भन्दै छोटी भन्सारको पुनःस्थापनाको माग गर्दै चक्काजाम गर्नुपरेको संघर्ष समितिका अध्यक्ष विनोद कुमार यादवले उल्लेख गर्नुभयो ।
मागप्रति सम्बन्धित निकायले गम्भीर नबने आन्दोलनलाई थप सशक्त बनाउँदै लगिने आन्दोलनकारीहरु वताए । आन्दोलनकारीहरुले छोटी भन्सार रहेको बरियारपट्टिमा दुई सातादेखि आन्दोलनरत छन् ।
आन्दोलनकारी र स्थानीय प्रशासनबीच छलफल पश्चात् बन्द रहेको सडक दुई घण्टा पछि सुचारु भए पनि माग सम्बोधन नभए पुनः सडकमा उत्रिने वताइएको छ ।




















