सिरहा,भदौ २७ गते । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज तथा पूर्व मन्त्री विश्वनाथ साहले अहिलेको सरकार अर्कैको इशारामा चलेको वताउनुभएको छ ।
आज सिरहाको धनगढीमाई नगरपालिकाको नगर एकता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता साहले तिब्बतका धर्म गुरु दलाई लामाको जन्मोत्सव मनाउनु, जेनजी शहीद स्मृतिको दिवसमा ठगी मुद्दामा जेल सजाय भोगिसकेका धर्म गुरुहरु विजय भण्डारी, श्रीनिवास आचार्यलाई गृह मन्त्री सुदन गुरुङसँगै राखेर कार्यक्रम गर्नु शहीदहरु प्रतिको अपमान मात्रै गरेन सरकार कसरी चलेको छर्लंग भइरहेको आरोप लगाउनुभयो ।

नेता साहले दर्जनौ जेनजी शहीदहरुको रगतबाट बनेको सुशासनको जगमा सरकार भएको जिकिर गरे पनि सहकारीमा जनताले जम्मा गरेको रकमको अर्बौको घोटाला गरेको जीवी राईलाई पक्राउ नगर्नु, एउटा सुत्केरी महिलाले उपचार नपाएर सडकमै बच्चालाई जन्माउन वाध्य पार्नु, ग्याँसको हाहाकार लगायत समस्या वालछ्याल्ल भइरहँदा समेत नालायक सरकारले केही गर्न नसक्नु यो सरकारको असक्षमता भएको उल्लेख गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले जान्नेलाई छान्ने भन्ने मान्छेले बनाएको सरकारले जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न सबै एक जुट भएर लाग्नुपर्ने वताउनुभएको छ ।

नेता चौधरीले अहिलेको सरकार असक्षमताको पराकाष्टा नाघेको छ, बजारमा ग्याँसको हाहाकार छ, बाढी पहिरोको चरम चपेटामा परेकाहरुले उद्धार र राहत पाएको छैन, सुत्केरी महिलाले उपचार पाउन सकेको छैन, महंगीले अकाश छोएको छ त्यसैले यो सरकारको विरुद्ध लाग्नुको विकल्प नरहेकाले सरकारले गरेका राष्ट्रविरोधी गतिविधिलाई पर्दाफास गर्न र राष्ट्रघाती कदम विरुद्ध गाउँ गाउँका जनतालाई सचेत गराउँदै अगाडि बढ्न नेता कार्यकर्तालाई गाउँ पस्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा एकीकृत नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज अजय शंकर नायक, जिल्ला संयोजक प्रमोद यादव, नेता उत्तर वहादुर जर्घा मगर लगायतको नेताहरुको उपस्थितिमा सम्पन्न एकता तथा प्रशिक्षण कार्यक्रमको अध्यक्षता धनगढीमाई नगरपालिकाका नगर संयोजक प्रकाश योन्जन र संचालन शुभराज लामाले गर्नुभएको थियो । पार्टी एकता तथा प्रशिक्षण कार्यक्रमबाट ८१ जना नगर समितिको घोषणा समेत गरेका छन् ।





















