सिरहा भदौ २५ गते । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको गम्भीर संकटमा रहेको बताएका छन्।
जनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै प्रचण्डले भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन, संसद् विघटन र नेपालको आन्तरिक मामिलामा विदेशीले फैसला गर्न थालेको आरोप लगाए।
उनले नेपाली जनताको हातमा देश फर्काउन नयाँ संयुक्त मोर्चा गठन गरी आन्दोलन अघि बढाउनुको विकल्प नरहेको बताए। देश संकटमा परेको बेला सबै नेपाली एकजुट भएर एकअर्कालाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
सिरहाको मिर्चैयामा आयोजित सिरहा जिल्लास्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले रसुवाको भोटेकोशीमा बाढीपहिरोको विपत्ति आउँदा मधेसले सहयोग गर्ने र मधेसमा विपत्ति पर्दा पहाडले सहयोग गर्ने नेपाली संस्कार रहेको उल्लेख गरे।
यसअघि संयोजक प्रचण्डले संघीय सरकारको अनुदान सहयोगमा मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा नवनिर्मित १२ कोठे तीनवटा भवनको शिलान्याससमेत गरेका थिए।



















