सिरहा, असार १० गते ।आँपको राजधानी मानिएको मधेश प्रदेशमा यसबर्ष आँप खेतीको क्षेत्रफलमा बृद्धि भएपनि उत्पादन र उत्पादकत्वमा कमी आएको छ । 

कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार  मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ३२ हजार पाँच सय ७४ हेक्टर क्षेत्रफलमा औसत उत्पादकत्व ९ दशमलव ४ मेट्रिक टन प्रतिहेक्टरको दरले दुई लाख ९४ हजार पाँच सय ६७ मेट्रिक टन आँप उत्पादन भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो । 

अघिल्लो आर्थिक बर्ष  २०८१/८२ मा मधेश प्रदेशमा २९ हजार आठ सय ८० हेक्टर क्षेत्रफलमा औसत उत्पादकत्व ११ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरको दरले तीन लाख ४१ हजार चार सय ४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यो अघिल्लो बर्षको तुलनामा ४६ हजार आठ सय ७८ मेट्रिक टन कम आँप उत्पादन भएको हो । जबकी क्षेत्रफल दुई हजार छ सय ९४ हेक्टर बढी क्षेत्रफलमा आँप खेती भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाको तथ्याङ्कमा उल्लेख छ । 

यसबर्ष सबै भन्दा बढी उत्पादकत्व बारामा १३ दशमलव ८० छ भने सबै भन्दा कम सर्लाहीमा ६ दशमलव २० उत्पादकत्व रहेको कृषि निर्देशनालयले जनाएको छ । जिल्लागत हिसाबले सप्तरीमा आठ हजार तीन सय ८७ हेक्टरमा प्रतिहेक्टर ९ मेट्रिक टनका दरले ७५ हजार पाँच सय मेट्रिक, सिरहामा नौ हजार ५० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ मेट्रिक टनका दरले ७२ हजार चार सय मेट्रिक टन, रौतहटमा ४ हजार सात ७० हेक्टर क्षेत्रफमा प्रतिहक्टर ११ दशमलव ४० मेट्रिक दरले ५४ हजार तीन ७८ मेट्रिक टन उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो । यस्तै सर्लाहीमा दुई हजार एक सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ६ दशमलव २० दरले १३ हजार २० मेट्रिक टन, महोत्तरीमा तीन हजार हेक्टर क्षेत्रमा प्रतिहेक्टर २९ हजार सात सय मेट्रिक टन, धनुषामा तीन हजार तीन २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ७ मेट्रिक टनका दरले २३ हजार २७५ मेट्रिक टन, बारामा एक हजार चार सय ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १३ दशमलव ८० मेट्रिक टनका दरले २० हजार छ सय ३१ मेट्रिक टन र पर्सामा चार ४७ हेक्टर क्षेत्रफलमा १३ दशमलव ३४ मेट्रिक टनका दरले पाँच हजार नौ सय ६३ मेट्रिक टन आँप उत्पादन भएको अधिकृत विश्वकर्माले बताउनुभयो । कृषि विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा किसानले उन्नत जातका आँपका बिरुवा प्रयोग गर्न थालेका छन् । बगैंचा व्यवस्थापन, मलखादको सन्तुलित प्रयोग, आधुनिक सिँचाइ प्रणाली तथा रोग–कीरा नियन्त्रणमा सुधार भएका कारण उत्पादन क्षेत्र बढ्ेपनि हावाहुरी र रोग किराको प्रकोपका कारण यसबर्ष आँप उत्पादनमा कमी आएको कृषिबिज्ञ दिनेश यादवले बताउनुभयो । 

मधेश प्रदेश देशकै प्रमुख आँप उत्पादन क्षेत्रका रूपमा परिचित छ । यहाँ उत्पादन हुने मालदह, दशहरी, बम्बई, कलकतिया, आम्रपाली लगायतका विभिन्न जातका आँप प्रदेशभित्र मात्र नभई काठमाडौं उपत्यका तथा देशका अन्य प्रमुख बजारमा समेत आपूर्ति हुँदै आएका छन् । आँप खेती हजारौं किसानको आम्दानीको प्रमुख स्रोतसमेत बनेको छ 

प्रदेश सरकारले फलफूल खेती विस्तार, व्यावसायिक बगैंचा प्रवद्र्धन, उन्नत बिरुवा वितरण तथा बजार व्यवस्थापनमा जोड दिँदै आएको कृषि निर्देशालयका प्रमुख जितेन्द्र यादवको भनाई छ ।