सिरहा,जेष्ठ १३ गते । मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलले आगामी बजेटमा सबै किसानहरूले अपनत्व महसुस गर्ने गरी पूर्ण रूपमा किसानमुखी कार्यक्रमहरू तयार पार्न निर्देशन दिनुभएको छ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, जनकपुरधामद्वारा मंगलबार आयोजित पशुपन्छी तथा मत्स्य विकास क्षेत्रका विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रमुलाई सम्बोधन गर्दै मन्त्री पटेलले विगतका कमजोरीहरू सच्याउँदै काम गर्न सचेत गराउनुभयो। विगतका वर्षहरूमा वितरण गरिएका कृषि अनुदानहरू वास्तविक किसान (रियल किसान) सम्म नपुगी केवल कागजी प्रक्रिया पुर्याएर मन्त्रालयको रकम दुरुपयोग भएको व्यापक गुनासाहरू आइरहेको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो। अबका दिनमा यस्ता विकृति दोहोरिन नदिन आग्रह गर्दै मन्त्री पटेलले मन्त्रालयलाई सफल बनाउन र पूर्ण इमान्दारिताका साथ काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव डा. संजय कुमार यादवले आगामी बजेट मधेश प्रदेशका आठवटै जिल्लाको वस्तुस्थिति र विशिष्टता पहिचान गरेर निर्माण भइरहेको जानकारी दिनुभयो। उहाँले साना, मझौला तथा व्यावसायिक कृषकहरू सबैलाई समान रूपमा फलदायी र व्यावहारिक हुने गरी कार्यक्रमहरू समेट्न लागिएको स्पष्ट पार्नुभयो।
यसैगरी, निर्देशनालयका प्रमुख जागेश्वर प्रसाद यादवले किसानहरूका विद्यमान समस्या, अवसर र चुनौतीहरूलाई गहन रूपमा केलाएर आगामी दिनका योजनाहरू तय गर्न सहज होस् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।

उक्त महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रममा पूर्व सहसचिवहरू, विषय विशेषज्ञहरू तथा विभिन्न कार्यालयका प्रमुखहरूको बाक्लो सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी विज्ञहरूले मधेशको कृषि, पशुपालन र मत्स्य पालन क्षेत्रको सुधारका लागि आगामी बजेटमा समेट्नुपर्ने नीतिगत तथा व्यावहारिक पाटाहरूका बारेमा आ(आफ्ना सुझावहरू प्रस्तुत गर्नुभएको थियो।






















