सिरहा,वैशाख २९ गते । सिरहाको लहान नगरपालिका वडा नं। ७ स्थित मालपोत कार्यालय परिसरमा वर्षौँदेखि अवैध रूपमा सञ्चालित पसल प्रशासनले हटाएको छ। पटक(पटकको चेतावनी र लिखित सूचनालाई समेत अटेरी गरेपछि शुक्रबार प्रहरी र स्थानीय प्रशासनको सक्रियतामा उक्त संरचना हटाइएको हो।
कार्यालय परिसरभित्र अनुमति बिना वर्षौँदेखि सञ्चालनमा रहेको ुअजय चेलको पसलु हटाउन नेपाल प्रहरी, लहान नगर प्रहरी, स्थानीय वडा अध्यक्ष र मालपोत कार्यालयका कर्मचारीहरूको संयुक्त टोली खटिएको थियो।
मालपोत कार्यालयका अनुसार उक्त अवैध पसल हटाउन विगत दुई वर्षदेखि मौखिक रूपमा आग्रह गरिँदै आएको थियो। तर, सञ्चालकले बेवास्ता गरेपछि कार्यालयले पछिल्लो पटक २०८३ वैशाख ३ गते सार्वजनिक सूचना नै जारी गरेको थियो। सूचनाको समयसीमा सकिँदा समेत पसल नहटाएपछि बाध्य भएर बल प्रयोग गर्नु परेको मालपोत कार्यालय लहानका प्रमुख कमल पंडितले जानकारी दिनुभयो।

हाल लहान मालपोत कार्यालय निजी घर भाडामा लिएर सञ्चालन भइरहेको छ। कार्यालयको आफ्नै नयाँ सुविधासम्पन्न भवन निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ।
नयाँ भवनबाट सेवा प्रवाह गर्दा परिसर फराकिलो र व्यवस्थित हुनुपर्ने भएकाले सेवाग्राहीको सहजताका लागि अवैध संरचना हटाउनु परेको प्रशासनको भनाइ छ। अवैध पसल हटेसँगै अब सेवाग्राहीहरूलाई हिँडडुल गर्न, लाइन बस्न र अन्य प्रशासनिक कामका लागि परिसरभित्र ठाउँ फराकिलो हुने विश्वास लिइएको छ।
मालपोत कार्यालयले निर्माणाधीन भवनको बाँकी काम छिट्टै सम्पन्न गरी व्यवस्थित रूपमा सेवाग्राहीलाई सेवा दिने योजना बनाएको छ।





















