सिरहा,जेष्ठ २ गते । भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटद्वारा चालु आर्थिक वर्ष २०८२।०८३ मा संचालित कार्यक्रम प्रभावकारीबारे स्थलगत निरीक्षण तथा अवलोकन गर्न वन तथा वातावरण मधेश प्रदेशले चासो लिंदै घनिभूत रुपमा अनुगमन थालनी गरेको छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहट मातहतका दुई जिल्ला रौतहट र सर्लाही जिल्लामा कार्यालयद्वारा संचालित खोला किनार संरक्षण, संरक्षण पोखरी, पोखरी सौन्दर्यीकरण, गल्छि पहिरो नियन्त्रण, एकिकृत भू–संरक्षण कार्यक्रम, जलाधार व्यवस्थापन जस्ता कार्यक्रमहरुको अनुगमन गरिएको अनुगमन टोलीका संयोजक वन तथा वातावरण मन्त्रालयका बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बेचन कुमार महतोले अनुगमन स्थलवाट जानकारी दिनुभयो ।

संघ र तथा प्रदेश गरी करिव ६ करोड ८० लाख विनियोजित रकम मध्ये प्रदेश तर्फ ५ करोड २३ लाख ५० हजार, संघीय सशर्त तर्फ १ करोड तथा जलवायू उत्थानशिल चुरे कार्यक्रम (संघ सशर्त अनुदान) तर्फ ५५ लाख रहेको छ । संचालित खोला किनार संरक्षणले बाढीको कारण हुने वर्षेनी डुवानवाट स्थानीयहरु जोगिएका छन् छ भने खेती योग्य जमिनहरु थप कटानी हुनबाट जोगिएको स्थानीयहरु वताउँछन् ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय रौतहटका कार्यालय प्रमुख जिउत राउत यादवले यथेष्ट बजेट अभाव त छँदैछ मन्त्रालयले कार्यालयमा रकम ढिलो पठाएका कारण जनअपेक्षित रुपमा काम गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले विभिन्न समस्याको बाबजुद हालसम्म सरकारबाट प्राप्त बजेटको ४६.६३ प्रतिशत खर्च भैसकेको र बाँकी प्रकृयामा रहेको कार्यालय प्रमुख यादवले उल्लेख गर्नुभयो ।





















