सिरहा,साउन १४ गते । कर्फ्यु आदेशका बाबजुद सिरहाको गोलबजारमा प्रदर्शनकारीहरूले आगजनी तथा तोडफोड गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीको गोली लागेर मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका–२, तुलसीपुरका करिब २० वर्षीय गणेश यादव रहेका छन्।
घाइतेमध्ये धनुषा जिल्लाका २० वर्षीय सुभाष ठाकुर रहेको खुलेको छ। उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ। अर्का एक घाइतेको पहिचान भने खुल्न सकेको छैन।

प्रदर्शनकारीहरूले गोलबजार क्षेत्रमा नाराबाजी गर्दै केही मोटरसाइकलमा आगजनी गर्नुका साथै घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ।
घटनापछि गोलबजार क्षेत्र तनावग्रस्त बनेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको बाक्लो उपस्थितिका बाबजुद सिरहाको लहान, धनगढीमाई, कसहा, गोलबजार, सिरहा, नरहा लगायतका क्षेत्रमा प्रदर्शन जारी रहेको छ।

आन्दोलन तथा हुलदंगाका कारण शान्ति–सुरक्षामा असर पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि गोलबजार आसपासको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
सुनसरीको इनरुवामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग गर्दै विगत केही दिनदेखि सिरहाका विभिन्न स्थानमा आन्दोलन भइरहेको छ।




















