सिरहा, बैशाख ३ गते। मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यसहित सिरहाको लहान नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया सुरु भएको छ। लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले एक विशेष समारोहका बीच रङ्गशालाको शिलान्यास गर्नुभएको हो।
लहान नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको उक्त रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने बताइएको छ। शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले यस परियोजनाले स्थानीय क्रिकेट खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
नगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार मूल्य अभिवृद्धि कर (Vat) र पी।एस। बाहेक कुल रु। ४ करोड ९२ लाख ६५ हजार ६८२ रुपैयाँको लागतमा रङ्गशाला निर्माण गरिनेछ। उक्त निर्माणको ठेक्का काठमाडौँस्थित सञ्जय–जेसी–तनिष्का जेभीले पाएको छ।
नगरपालिकाका अनुसार यस आयोजनाको सम्झौता २०८२ चैत २३ गते सम्पन्न भएको हो। निर्माण कम्पनीले सम्झौता मितिदेखि एक वर्षभित्र अर्थात् २०८३ चैत २३ गतेसम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको छ।
अन्तर्राष्ट्रिय स्तरको सुविधासहित निर्माण हुने यस रङ्गशालाले मधेस प्रदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रङ्गशाला निर्माण सुरु भएसँगै स्थानीय खेलप्रेमी तथा खेलाडीहरूमा उत्साह थपिएको छ।




















