राजविराज, २८ जेठ । बजार अनुगमन तथा बिभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरी सप्तरी र सिरहा जिल्लामा सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस मनाइएको छ । 

दिवसको अवसरमा खाद्य बजार अनुगमन, खाद्य व्यवसायी तथा विद्यार्थी लच्छित खाद्य स्वच्छता सचेतना कार्यक्रम, खाद्य स्वच्छता सम्बन्धि प्रचारप्रासर लगायतका गतिविधिहरु आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजले जनाएको छ । 

सप्ताहव्यापी विश्व खाद्य स्वच्छता दिवस, २०२३ को अवसर पारेर सप्तरीको सुरङ्गा नगरपालिकाकामा किराना पसल, होटल÷रेष्टुरेण्टहरुमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि संयुक्त खाद्य बजार अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्न सम्बन्धित व्यवसायीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।  

नगरपालिकाका उपप्रमुख रुद्र बहादुर कार्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा बिभिन्न पसल तथा होटलहरुबाट म्याद गुज्रेको अखाद्यवस्तुहरु जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो । 

यस्तै विश्व खाद्य स्वच्छता दिवसकै अवसरमा राजविराज नगरक्षेत्रका विभिन्न मिष्ठान्न भण्डार, मिठाई पसल तथा होटलहरुमा खाद्य स्वच्छता सम्बन्धी अनुगमन गरी म्याद गुज्रेका चिसो पेयपदार्थ तथा अखाद्यवस्तुहरु नियन्त्रणमा लिई नष्ट गरिएको उहाँले बताउनुभयो । 

यसअघि सोही दिवसको अवसरमा सिरहाको लहान नगरपालिकामा घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा उद्योगी व्यवसायीहरुसँग बजार विस्तार सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दिपन्द्र कुमार यादवको अध्यक्षमा आयोजित कार्यक्रममा प्रमुख सिंहले “खाद्य स्वच्छता तथा गुणस्तर“ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुहुँदै उद्योगी, व्यवसायी तथा आम–सरोकारवालाहरुलाई खाद्य स्वच्छता कायम गर्ने÷गराउने कार्यमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।