लहान, ९ भदौ ।  सिंचाईकै आभावमा गतबर्ष राम्ररी धान खेती गर्न नसकेर निराश बनेका सिरहाको धनगढीमाई नगरपालिका १२ का किसान सुबोध महतोले यसबर्ष भन्ने अधिकांश जग्गामा धान रोपाई गर्न सकेकोमा खसुी छन् । 

यसबर्ष धान रोपाई गर्ने समयमा बर्षा नभएपनि यादवले बैकल्पिक सिंचाईको माध्यमबाट समयमै धान रोपाई गर्न सकेकोमा खुसी लागेको महतोले बताउनुभयो । 

‘‘अघिल्लो बर्षा बर्षा पनि कम भयो, बैकल्पिक सिंचाईको पनि राम्रो व्यवस्था थिएन्, महतोले भन्नुभयो,‘‘ जसका कारण अधिकांश जग्गा बाँझो नै राख्नुपर्ने स्थिति थियो ।” तर यसबर्ष बैकल्पिक सिंचाईका लागि भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल जडान गरेपछि खेती गर्न सहज भएको उहाँको भनाई छ । 

अघिल्लो सिंचाईको अभावमा करिब एक बिघामा मात्र धान खेती गर्न सकेको महतोले यसबर्ष भने दुई बिघा क्षेत्रफलमा धानबाली लगाएको बताउनुभयो ।  

यस्तै सिरहाकै नरहा गाउँपालिका ५ बलुवाका किसान कारी यादवलाई पनि यसबर्ष धानबाली लगाउन समस्या भएन् । उहाँले पनि साउनको पहिलो साता नै धान रोपाई गरेर थमान मेटाई रहेको बताउनुभयो । 

‘‘अघिल्लो बर्ष जस्तो यसबर्ष खेती गर्न पानीको कुनै समस्या भएन्” यादवले भन्नुभयो,‘‘ यसबर्ष डिप ट्युवेलबाट पानी आएपछि समयमै धान रोपाई गरे, खासै पानीको दुख भएन् ।”

महतो र यादव मात्र होईन्, बिगतको बर्षमा खेतीका लागि आकाशे पानीको भर पर्दै आएका सिरहा र सप्तरीका किसानहरुको सिंचाईको समस्या विस्तारै ट्र्दै गएको छ । 

अन्नबालीको भण्डार मानिएको सिरहा र सप्तरीमा बर्षेनी खडेरीको माग खेप्दै आएका किसानहरुलाई राहत पु¥याउने उद्देश्यका साथ भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल, स्यालो ट्युवेल र पावर ड्रिल जडान गरेपछि आफुहरुको सिंचाईको समस्या ट्र्दै गएको किसानहरुले बताएका छन् । 

भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले आर्थिक बर्ष २०७८÷०७९ मा सिरहा र सप्तरीमा थप दुई हजार ८४० हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा बिस्तार भएको जनाएको छ । 

सिंचाईका लागि आर्थिक बर्ष २०७८÷०७९ मा सिरहा र सप्तरीमा ४५ थान डिप ट्युवेल र ३५ थान पावर ड्रिल जडान गरेपछि सिंचित क्षेत्र बढ्ेको कार्यालय लहानका कार्यालय प्रमुख सुदर्शन अधिकारीले जानकारी दिनुभयो । 

प्रमुख अधिकारीका अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा जडान गरिएको डिप ट्युवेल र पावर ड्रिलबाट थप सिरहामा एक हजार ८४८ हेक्टर र सप्तरीमा ९९२ हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको छ । 

एक थान डिप ट्युवेलबाट ६० हेक्टर र पावर ड्रिलबाट चार हेक्टरमा सिंचाई हुन्छ । 

आर्थिक बर्ष २०७८÷०७९ मा सिरहामा २९ थान र सप्तरीमा १६ थान गरी ४५ थान डिप ट्युबेल जडान गरिएको सो कार्यालयका हाईड्रोजियोलिष्ट दिपिका साहले जानकारी दिनुभयो । 

सिचाई सुबिधा पु¥याएर कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि ल्याउने उद्देश्यले सो कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ मा सिरहामा २७ थान र सप्तरीमा आठ थान पावर ड्रिल समेत जडान गरिएको हाईड्रोजियोलिष्ट साहले बताउनुभयो । 

यस्तै सो अबधीमा १४ वटा पम्पको मर्मत गरी पुनः सञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको उहाँको भनाई छ । सो आर्थिक बर्षमा सिरहा र सप्तरीका ११ थानमा बिद्युतीकरण पम्प जडान गरिएको जनाएको छ ।

गत आर्थिक बर्ष २०७७÷०७८ मा सो कार्यालयले सिरहामा ४० थान र सप्तरीमा आठ थान पावर ड्रिल जडान गरेको थियो । उक्त आर्थिक बर्षमा सिरहामा छ थान र सप्तरीमा १५ थान गरी २१ थान स्यालो ट्युबेल समेत जडान गरिएको थियो । 

कृषक समुहमा आबद्ध भएका किसानहरुको माग र सरकारले छनौट गरेको योजना अनुसार सिरहा र सप्तरीमा डिप ट्युबेल, स्यालो ट्युवेल र पालर ड्रिल जडान गर्दै आएको प्रमुख अधिकारीको भनाई छ । 

यसरी बर्षेनी डिप ट्युवेल, स्यालो ट्युवेल तथा पावर ड्रिल जडान हुन थालेसँगै सिंचित क्षेत्र बढ्दै गएको स्थानीय किसानहरुले बताएका छन् । 

‘‘पहिला सिंचित क्षेत्र कम रहेकाले बर्षाको भरमा मात्र किसानहरुले खेती गर्दै आएको थियो”, सिरहाको धनगढीमाई नगरपालिकाका किसान श्याम महतोले भन्नुभयो,‘‘ तर डिप ट्युबेल र स्यालो ट्युवेल जडान गर्ने क्रम बढ्ेसँगै बिस्तार सिंचित क्षेत्र बढ्दै गएको छ ।” यसबाट खेती गर्न सहज भईरहेको उहाँको भनाई छ ।