राजविराज, ४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिता अन्तर्गत आज आइतबार सम्पन्न खेलमा भारतको युवा शास्त्री क्लब बिरपुरलाई २–४ गोल अन्तरले पराजित गर्दै शम्भुनाथ सप्तरीले विजयी सुरुवात गरेको हो । 

शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली सोमवार मालिथम फुटबल क्लब उदयपुर र लहान एफसी सिरहाबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । 

सो प्रतियोगिताका बिजेता टिमले नगद रु.  ५७ हजार  तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । 

सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।