राजविराज, ४ मङ्सिर : सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा नवनिर्मित श्रीपुर्राज सामुदायिक विकास केन्द्रको कार्यालय भवन उद्घाटन गरिएको छ ।
द फ्रिडम फण्डको आर्थिक सहयोगमा निर्माण गरिएको चारकोठे भवनको शुक्रबार आयोजित कार्यक्रममा फण्डका प्रबन्धक जियमबाबु श्रेष्ठले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा प्रबन्धक श्रेष्ठले सामाजिक विकास तथा उत्पीडित समुदायको उत्थानका क्षेत्रमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । संस्थाको आफ्नै कार्यालय भवन निर्माण भएपछि संस्थागत गतिविधि सञ्चालन तथा सेवा प्रवाहमा सहजता आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा द फ्रिडम फण्डका सल्लाहकार ब्रह्मदेव राम, संस्थाका पूर्वअध्यक्ष राजनारायण चाैधरी, समाजसेवी दिनेश चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा कार्यालय भवन निर्माणका लागि जग्गादान गर्ने जग्गादाता तथा संस्थाका पूर्वअध्यक्ष राजनारायण चौधरी र सुखीलाल चौधरीका पत्नी सतैनी चाैधरी,
संस्थाका कर्मचारी तथा पूर्वकर्मचारीलाई सम्मान गरिएको थियो ।
यसैबीच, संस्थाले शुक्रबार नै ३१औँ साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न गरेको छ । कार्यालय भवन उद्घाटनपछि आयोजित साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा संस्थाले एक वर्षको अवधिमा सञ्चालन गरेका कार्यक्रम तथा आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।















