सिरहा,मंसिर २६ गते । आफनो कलासांस्कृतिलाई जगेर्ना गर्न सप्तरीको सुरुङ्गा नगरपालिका–३, श्रीपुरमा दनुवार समुदायको महत्वपूर्ण राष्ट्रिय पर्व नेमान (न्वाङ्गि) एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ । 

कृषि चक्रसँग प्रत्यक्ष सम्बन्धित यो पर्व दनुवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ । खेतीपातीको मुख्य समयमा मनाइने नेमान पर्वअन्तर्गत धानको वेर्ना लगाइने, नयाँ वाली घरभित्र्याई कुलदेवतामा चढाइने र त्यसपछि मात्र परिवार तथा समुदायका सदस्यहरूले ग्रहण गर्ने परम्परा रहिआएको छ । यसरी पहिलो अन्न देवतामा अर्पण गरेर वर्षभरि सुख–समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै मधेश प्रदेशका पूर्व भूमिव्यवस्था तथा कृषि मन्त्री गोविन्द नौपानेले नेमान (न्वाङ्गि) पर्व केवल अन्न ग्रहण गर्ने धार्मिक विधिमात्र नभई दनुवार कला–संस्कृतिलाई राष्ट्रिय पहिचान दिलाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले यस्ता परम्परा जोगाउन राज्य र स्थानीय तहको ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

यस्तै, सुरुङ्गा नगरपालिका मेयर गीता चौधरीले दनुवार समुदायको संस्कृति नगरकै गौरव भएको बताउँदै, यस्ता मौलिक पर्वहरूले सामाजिक एकता, पहिचान र भविष्य पुस्तालाई संस्कृतिसँग जोड्ने काम गर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीहरू परम्परागत नाचगान, भेषभूषा र सांस्कृतिक प्रदर्शनमार्फत दनुवार समुदायले आफ्नो मौलिकता उजागर गरेका थिए ।