सिरहा, मंसिर २ गते । विश्व शौचालय दिवस (१९ नोभेम्बर २०२५) को अवसर पारेर लहान नगरपालिकाले “घरघरको शान, स्वच्छता” अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
सरसफाइ तथा सार्वजनिक स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै सुरु गरिएको यो अभियान नगरभरी प्रभावकारी जनसहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
लहान नगरपालिकाले सन् २०१७ मै ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिसकेको भए पनि हालै सम्पन्न गरिएको सरसफाइ अवस्था विश्लेषण २०२५, सामाजिक नक्सांकन २०२५, तथा घरधुरी सर्वेक्षणले नगरको सरसफाइ स्थितिमा पुनः चुनौती देखा परेको तथ्य उजागर गरेको छ । सर्वेक्षण अनुसार नगरभरी करिब १७ प्रतिशत परिवार पुनः खुला दिसातर्फ फर्किएका पाइएको छ ।
अध्ययनले लहानका ३,८०१ घरधुरीमा शौचालय सुविधा नै नभएको, र ४०० घरधुरीमा शौचालय भए पनि विग्रिएको वा प्रयोगयोग्य नभएको निष्कर्ष निकालेको छ । दलित, भूमिहीन, आर्थिक रूपमा विपन्न तथा बाढी–जोखिमयुक्त क्षेत्रका परिवारमा शौचालयको अभाव अत्यधिक रहेको देखिएको जनाईएको छ ।
त्यसैगरी, दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, पानीको कमी, तथा शौचालय मर्मत–सम्भार प्रणाली कमजोर हुँदा नगरको स्वच्छता चुनौती थप गम्भीर बन्दै गएको नगरपालिकाले बताएको छ । यी समस्यालाई गम्भीर रूपमा लिएर दिगो सरसफाइ सुनिश्चित गर्न नागरिक–सहभागिता आधारित अभियान अपरिहार्य रहेको नगरपालिकाको निष्कर्ष छ ।
यही निष्कर्षका आधारमा लहान नगरपालिकाले विश्व शौचालय दिवस–२०२५ को अवसरमा “स्वच्छता अभियान २०८२” घोषणा गर्दै समग्र नगरलाई पुनः दिगो रूपमा खुल्ला दिसामुक्त बनाउने लक्ष्य लिएको छ ।



















