राजविराज, १६ भदौ । ठेक्का लागेको पुल र सडकहरुको निर्माणमा ढिलाई भईरहेको भन्दै प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन सप्तरीको छिन्नमस्ता गाउँपालिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादवको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको हो । नेपाल सरकार र मधेश प्रदेश सरकारद्वारा ठेक्का लागेको पुल र सडकहरु निर्माण व्यवसायी र सम्बन्धित निकायको उदासिनताका लामो समयसम्म अलपत्र पर्दा सर्वसाधारण नागरिकले सास्ती भोग्दै आएकाले प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान सुरु गरिएको पुर्वमन्त्री यादवले बताउनुभयो ।
साङ्केतिक आन्दोलन स्वरुप एक सातासम्म हस्ताक्षर सङ्कलन गरिने र सङ्कलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाईने उहाँले बताउनुभयो ।
ठेक्का लागिसकेको पुल र सडक लामो समयसम्म निर्माण सम्पन्न नुहुनमा मधेसलाई हेप्ने नेपाल सरकारको मानसिकता र नाफाघाटाको हिसाबकिताब गर्ने मधेश प्रदेश सरकारको रबैया पनि उतिकै जिम्मेवार रहेको उहाँको भनाई छ । त्यसैले जनस्तरबाट प्रधानमन्त्री र मधेश प्रदेशका मुख्यमन्त्री लाई ध्यानाकर्षण गराउन हस्ताक्षर अभियान सञ्चालन गरिएको पुर्वमन्त्री यादवले बताउनुभयो ।
यसपछि पनि सरकार र सम्बन्धित निकाय गम्भीर नभए थप संघर्षको कार्यक्रम अगाडि बढाईने जानकारी दिनुभयो ।




















