सिरहा,बैशाख ६ गते । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले चुरे क्षेत्रमा देखिएको पानीको समस्या तथा जलवायु परिवर्तनले गरेको प्रभावलाई न्यूनीकरण गर्न चुरे संरक्षणको काममा जुट्न सबैलाई आग्रह गर्नुभयो ।
आज सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० उत्तरवर्ती चुरे क्षेत्र स्थित नागा बाबा तालको शिलान्यास गर्नुहुँदै मन्त्री साहले चुरे संरक्षणलाई बेलैमा सचेततापूर्वक नलागे तराई मधेश मरुभूमिमा परिवर्तन हुने वताउनुभयो ।
मन्त्रालयको पचास लाखको लागतमा निर्माण हुने आर.सी.सी.रनभेष्टिंग ड्याम (ताल) ले यस क्षेत्रमा देखिएको पानीको रिचार्ज लेभललाई माथि उकास्ने काम गर्नेसँगै यसलाई पर्यटकीय क्षेत्र बनाउने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेलले बन्न लागेको ताल समयसिमामै निर्माण गर्न सल्लाह दिनुहुँदै उहाँले कमसल खालको काम नगर्न समेत उपभोक्ता समितिलाई निर्देशन दिनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका वाली विकास अधिकृत विजय यादवले पचास लाखको लागतमा निर्माण हुन लागेको उक्त तालमा आर.सी.सी.रनभेष्टिंग ड्याम (ताल) पोखरी, तालको डयामको वरिपरि हरियाली प्रबर्धन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी संरचना निर्माण लगायतका संरचनाहरु निर्माण हुने वताउनुभयो ।