सिरहा,बैशाख २ गते । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्वको धार्मिक स्थल पताल पोखरीमा नुहाउन र पोखरीको डिलमा रहेको हरिसिंह देवको मन्दिरमा पूजापाठ गर्ने निःसन्तान महिलाको आज ठूलो घुइँचो लागेको छ ।

हरेक वर्ष वैशाख २ गते भव्यतापूर्वक लाग्ने मेला पताल पोखरीमा आजका दिन पोखरीमा नुहाउने क्रममा प्राप्त भएको सामाग्री शरीरमा धारण गर्दा सन्तानको सुख प्राप्त हुने मान्यताले पताल पोखरीमा नुहाउनेहरुको भीड लागेको हो ।

ग्रामीण क्षेत्रमा अवस्थित धार्मिक महत्वको ऐतिहासिक पताल पोखरीमा तराईका जिल्लासँगै भारतको दुरदराजको ठाउँबाट समेत निःसन्तान महिलाहरु आजका दिन पोखरीमा नुहाउन आउने गरिएकोले पनि यहाँ आजका दिन ठूलो मेला समेत लागेको छ ।

पोखरीमा नुहाए सन्तान प्राप्ति हुने जनविश्वासको साथ शुरु भएको यो क्रम वर्षौदेखि चलिआएको छ । त्यसैले पताल पोखरी धार्मिक दृष्टिकोणले सबैको पुजनीय समेत बन्दै गएको छ ।