राजविराज, २३ भदौ । पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोली सोमवार सप्तरी आउन लाग्न भएको छ । 

सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहामा निर्मित जनयुद्धका सहिद स्व.दुर्गाराज पौडेल र अर्जुन कोइरालाको शालिक अनावरण गर्न पुर्वप्रधानमन्त्री प्रचण्ड सप्तरी आउन लाग्नु भएको हो । 

नेकपा माओवादी केन्द्र सुरुङ्गा नगर समितिको आयोजनामा भोली सोमवार दिउँसो ३ बजे आयोजना हुने कार्यक्रमका लागि पुर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र सप्तरीका नेता यामबहादुर खापाङ्गी मगरले जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री उमेशकुमार यादव, नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष छेदी रजक (बिमल) लगायतका नेता कार्यकर्ताहरु रक्साहा पुगेर कार्यक्रमको तयारीमा जुट्नु भएको छ । 

तत्कालिन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धका क्रममा सप्तरीको सप्तरीको सुरुङ्गा नगरपालिका २ रक्साहा निवासी पौडेललाई गत २०५५ साउन ३१ गते तत्कालिन शाही सेनाले उदयपुरको गाईघाटमा नियन्त्रणमा लिई चुरे जंगलमा पु¥याएर मारेको थियो । यस्तै सोही ठाउँका कोइरालाको गत २०६१ असोज २५ गते सेनाले उदयपुरगढी नगरपालिकाको गैयामा मारेको थियो ।