सिरहा,असोज ६ गते। धनगढीमाई नगरपालिका–५ तिनकोनीस्थित जनता माध्यमिक विद्यालय प्राविधिकमा पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका प्रयासहरू प्रभावकारी बन्दै गएका छन्। विद्यालयले शिक्षण सिकाइलाई थप व्यवस्थित, व्यावहारिक र प्रविधिमैत्री बनाउँदै लगेपछि विद्यालयको शैक्षिक वातावरणमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।
विद्यालयमा नियमित पठनपाठन सँगै विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले अतिरिक्त शैक्षिक गतिविधि, प्रयोगात्मक अभ्यास तथा विषयगत शिक्षणमा जोड दिइँदै आएको विद्यालयका प्र.अ.जितेन्द्र चौधरीले जनाएको छ।
विद्यालयमा अनुशासन, नियमित उपस्थिति, शिक्षक–विद्यार्थीबीचको समन्वय तथा अभिभावकसँगको सहकार्यलाई समेत प्राथमिकतामा राखिएको बताइएको छ। विद्यालय प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको संयुक्त प्रयासबाट शैक्षिक सुधारलाई निरन्तरता दिइएको विद्यालय पक्षको भनाइ छ।
विद्यालयको भौतिक पूर्वाधार, प्रयोगशाला तथा प्राविधिक शिक्षालाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनिता कुमारी साहले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र समुदायबीचको सहकार्य आवश्यक रहेको बताउँदै विद्यालयलाई स्थानीय स्तरमै गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्ने नमुना संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
स्थानीय अभिभावकहरूले समेत विद्यालयमा पछिल्लो समय पठनपाठन र शैक्षिक गतिविधिमा सुधार हुँदै गएको प्रतिक्रिया दिएका छन्। उनीहरूले विद्यालयमा आवश्यक पूर्वाधार र शैक्षिक सामग्री थप गर्दै लगिए विद्यार्थीले आफ्नै गाउँठाउँमा गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने बताएका छन्। विधालय व्यवस्थापन समितिका अध्यक्ष साहले अ-आफ्नो बालबालिकाहरुलाई नियमित विधालय पठाउन अभिभाबकहरुलाई आग्रह गरेका छन् ।
विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, प्राविधिक सीप र अनुशासित शैक्षिक वातावरणलाई प्राथमिकता दिँदै विद्यार्थीको समग्र विकासमा केन्द्रित हुने विधालय बनाउनमा सब भन्दा बढी सक्रिय रहीरहने पूर्व मेयर हरिनारायण चौधरीले जनाएको छ। चौधरीका अनुसार अब यस विधालयका शैक्षिक अबस्था गत विगत भन्दा बढी सबल रहने बताएका छन् ।




















