सिरहा,असोज ५ गते ।  धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार असोज १ गते  साँझ करिब ६ः३० बजे जनकपुर उपमहानगरपालिका–१० स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तहरूले कार्यरत चिकित्सक डा। सरोज साहलाई हातपात भएको थियो।

सूचनापछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा धनुषा, औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखियालाई तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई धनुषा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३९ग० बमोजिम कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजतलास भइरहेको छ।