सिरहा,भदौ १० गते । पर्साको सिरसिया स्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले निर्धारण गरिएको लक्ष्य प्राप्त गर्न नसक्दा आव ०८०÷०८१ मा राजस्व सङ्कलन पाँच अर्व लक्ष्य घटाएको छ ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई विगतका दुई वर्ष देखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताउनुभयो ।

‘कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९÷८० को तुलनामा आव २०८०÷८१ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो’, उहाँले भन्नुभयो, ‘गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।’

भन्सार विभागले आव २०८०÷८१ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो । विभागले कार्यालयलाई आव २०७९÷८० मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रुपैया राजस्व सङ्कलन गरेको थियो ।