लहान,भदौ ४ गते । समाचार लेखेको विषयलाई लिएर धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले फोन गरी अपमान जनक शब्द प्रयोग गर्नु र धम्क्याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भएको भन्दै महासंघको ध्यानाकर्षण भएको छ ।
पत्रकार महासंघ सिरहा भदौ ३ गते जारी प्रेस विज्ञप्तिमा प्रेसमाथि कुनै किसिमको गलत व्यवहार, थिचोमिचो र हस्तक्षेव स्वीकार्य नहुने विज्ञप्ति मार्फत् महासंघले सम्बन्धित निकायलाई चेतावनी दिएको छ ।
नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीको लागि वोडिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए । जुन विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका थिए । समाचारमा वडा अध्यक्षहरुकै सक्रियतामा व्यक्ति परिचालन गरी अवैध रुपमा एक थान बोरिङ जडान गरेवापत ३० देखि ४० हजार रकम असुल गरेको उल्लेख गरिएको छ ।
प्रकाशित समाचारको विषयलाइृ लिएर नगर प्रमुख महतोले समाचार तुरुन्त डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेको थियोे । उनले फोनबाट तत्काल समाचार हटाउन दवाव दिदै यस्तो समाचार लेखरहे जे पनि हुनसक्ने भन्दै धम्क्याएका थिए ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले पत्रकार मुकेश कुमार यादवसँग गरेको अडियो रेकर्ड ।
स्मरणरहोस् बोडिंग जडानमा लाग्ने सम्पूर्ण खर्च नगर कोषबाट भुक्तानी हुने गरी प्राविधिक स्टीमेट गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ । तर जनताबाट निर्वाचित जनप्रतिनिधि तथा विचौलियाले किन स्थानीयसँग ३० देखि ४० हजार रकम माग गरिएको हो यो भ्रष्टाचार नभई के हो प्रश्न गर्छन् आम मानिसहरु ।