शम्भुनाथ (सप्तरी), ३० मङ्सिर । सप्तरीको शम्भुनाथ नगरपालिका ३ गढिमाई टोलका बिपन्न चरवा चरवा दलित महिलाहरु सामुहिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।
बिगतमा स्थानीय साहुमहाजनकोमा बनिबुतो गरेर परिवार चलाउँदै आएकी सो गाउँका दलित महिलाहरु पछिल्लो समय सामुहिक तरकारी खेतीमा जुटेका हुन् । सो गाउँका २४ जना बिपन्न दलित महिलाहरु डेढ बिघा जग्गा भाडामा लिएर सामुहिक तरकारी खेती सुरु गरेका छन् ।
गढिमाई हरवा चरवा बचत तथा ऋण समुह मार्फत बिगत दुई बर्षदेखि सामुहिक तरकारी खेती सुरु गरेका दलित महिलाहरुले स्थानीय भिखन चौधरी र फागु साहसँग जग्गा भाडाका लिएर मौसमी तरकारी खेती गर्दै आएको दुर्गीदेवी सदाले बताउनुभयो ।
अघिल्लो सिजनमा मकैसँगै घिरौला, भिन्डी लगायत करिब ३ क्विन्टल तरकारी उत्पादन गरी रु. ५० हजार आम्दानी भएको समुहकी सदस्य समेत रहनुभएकी दुर्गीदेवीको भनाई छ ।
साहुँमहाजनकोमा मजदुरीमा मात्र सिमित रहँदै आएका सो गाउँका बिपन्न दलित महिलाहरु जिविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आयआर्जनको लागि तरकारी खेतीतर्फ अग्रसर भएको निलम सदाले बताउनुभयो । अहिले आलु, फुल काउली, बन्दा, टमाटर, भाण्टा, खुर्सानी लगायतका तरकारी उत्पादन गरिरहेको उहाँको कथन छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले आवश्यक तालिमसँगै आर्थिक, प्राबिधिक लगायतका सहयोग गरेपछि आफुहरु सामुहिक तरकारी खेतीतर्फ अग्रसर भएको गढिमाई हरवा चरवा बचत तथा ऋण समुहका अध्यक्ष पलहास सदाले बताउनुभयो ।
‘‘हामीलाई तरकारी खेती बारे केही थाहा थिएन्”, अध्यक्ष पलहासले भन्नुभयो,‘‘ श्रीपुर्राज सामुदायिक केन्द्रले पहिला हामीलाई समुहमा आबद्ध गराएर तरकारी खेती बारे तालिम दियो ।” तालिम पश्चात सामुहिक तरकारी खेतीका लागि भाडामा जग्गा उपलब्ध गराउनुको साथै तरकारीको बिउबिजन र मलखाद्यको समेत त्यही संस्थाले व्यवस्थापन गरिदिएको छ, उहाँले भन्नुभयो ।
तरकारी खेतीका लागि जग्गासँगै बिउबिजन, मलखाद्य समेत व्यवस्था भएपछि समुहका महिलाहरु सामुहिक रुपमा तरकारी खेतीमा मिहिनेत गरेर आम्दानी गर्दै आएको अध्यक्ष पलहासले बताउनुभयो ।
तरकारी खेतीको लागि चाहिने सिंचाई गर्न बिद्युतीय मोटर समेत जडान गरिएको छ, जसका कारण तरकारी खेतीमा सहज भएको उहाँहरु बताउँछन् ।
अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्दै आएको निलम सदाले बताउनुभयो । पहिले घरमा फुर्सदमा रहेकाले आफूलाई दिन बिताउनु गाह्रो हुने गर्दथ्यो, व्यवसाय रुपमा तरकारी खेती गर्नुपर्छ भन्ने थाहा भएन उहाँले भन्नुभयो,‘‘ संस्थाबाट तालिम लिएको र घरपरिवारको राम्रो साथ पाएकाले आफूहरुले यो पेशा रोजेका हौँ ।”तरकारी खेतीमा संलग्न भएपछि सानोतिनो समस्या टार्ने खर्च पुग्ने गरेको दुर्गी सदाको भनाई छ ।
“महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हँुदोरहेछ”, दुर्गीदेवीले भन्नुभयो,‘‘अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन् ।” आफ्नो मिहिनेत र परिश्रमले उत्पादन गरेको वस्तु उपभोक्तामाझ पु¥याउँदा व्यवसायमा उत्साह थपिँदै गएको उहाँले बताउनुभयो ।
पुरुषको तुलनामा महिलाको तरकारी खेतीमा उत्साह राम्रो देखिएको छ । घरव्यवहार चलाउने कार्यमा महिला नै प्रमुख भूमिकामा रहने हाम्रो समाजमा आयआर्जन बढाउने कार्यमा महिलाहरु पुरुषसरह नै व्यवसायमा मिहिनेत र परिश्रम गर्न पछाडि हट्दैनन् । घरधन्दा, छोराछोरीको स्याहारसुसारसँगै यहाँका महिलाले तरकारी व्यवसायलाई साथमै अगाडि बढाएर आत्मनिर्भर बन्दै गएका छन् ।
आर्थिक रुपमा बिपन्न र सामािजक रुपमा बिभेदित हरवा चरवा दलित महिलाहरुलाई लक्षित गरी सशक्तिकरण अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामले बताउनुभयो ।
पछिल्लो केही बर्षयता हरवा चरवा दलित महिलाहरुमा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले साकारात्म सन्देश दिएको सहजकर्ता रामको भनाई छ ।
‘‘केही बर्षअघि सम्म साहुमहाजनमा मजदुरी गर्दै आएकाका चरवा चरवा परिवारका महिलाहरु सामुहिक तरकारी खेतीमा हौसिदै गएका छन्”, सहजकर्ता रामले भन्नुभयो,‘‘ पछिल्लो समय उहाँहरुले देखाएको उत्साहबाट पाठ सिकेर अन्य महिलाहरु अघि बढ्न सके आर्थिकसँगै समाजिक क्षेत्रमा समेत ठुलो परिवर्तन आउन सक्छ ।”




















