राजविराज, १ साउन ।  तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा चरवा मुक्ति घोषणा गरेको एक बर्ष पुरा भएको अवसरमा सप्तरीका हरवा चरवाहरुले ¥याली तथा कोणसभा आयोजना गरेका छन् । 

हरवा चरवा मुक्ति घोषणा दिवसको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत  द फ्रिडम फन्ड तथा श्रीपुर्राज सामुदायिक विकास केन्द्रको सहयोगमा नगर हरवा चरवा अधिकार मञ्च शम्भुनाथ नगरपालिकाद्वारा कठौनामा आयोजित बृहत ¥यालीमा सहभागी हरवा चरवा परिवारले मुक्तिको घोषणा भएको बर्ष दिन पुग्दाँ पनि पुर्नस्थापना हुन नसकेको गुनासो गरेका छन् । 

शम्भुनाथ नगरपालिका कार्यालय अगाडीबाट निष्केको हरवा चरवाहरुको बृहत ¥याली कठौना बजारको परिक्रममा गरी पुनः नगरपालिका कार्यालय अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । 

सभामा बोल्दै भुमि अधिकार मञ्चका उमाकान्त सदाले सरकारले मुक्तिको घोषणा गरिएपनि हुवा चरवाहरुको पुर्नस्थापनाको प्याकेज आउन नसकेको गुनासो गर्नुभयो । 

स्थानीय तहहरुलाई बजेट छुट्याउन ज्ञापन दिएपनि बजेट बिनियोजन नगरिएको बताउनुहुँदै उहाँले सरकारको घोषणा पश्चात पनि हरवा चरवा उठिबासको समस्या भोग्दै आएको बताउनुभयो । 

हरवा चरवा अधिकार मञ्चका सदस्य प्रमिलादेवी सदाले सरकारबाट भएकोे मुक्तिको घोषणा कार्यान्वयन हुन नसक्दाँ आफुहरुको समस्या ज्यूँका त्यूँ रहेको र  कुनै सुबिधा पाउन नसकिएको दुखेसो पोख्नुभयो । 

शम्भुनाथ नगरपालिकाका कार्यपालिका सदस्य शिबशंकर रामले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलन तथा पुर्नस्थापनाका लागि स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका सहजकर्ता बिजली रामद्वारा सञ्चालित कार्यक्रममा हरवा चरवा अधिकार मञ्चका सदस्य मन्द्रिकादेवी राम, दुर्गी सदा लगायतले बोल्नुभयो ।

तत्कालिन प्रधानमन्त्री देउवाले २०७९ साल साउन २ गते हरवा चरवा मुक्तिको घोषणा गरेको थियो । घोषणा भएको एक बर्ष पुरा भएको अवसरमा सप्तरीका हरवा चरवा परिवारले सोमवारै दिप प्रज्वलन समेत गरेका छन् । 

हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जिल्लाको बोदे बर्साईन नगरपालिका सहित रुपनी गाउँपालिका, शम्भुनाथ नगरपालिका र  डाक्नेश्वरी नगरपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।