राजविराज, १६ असार । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा हरवा चरवाकोे आवास अधिकार प्राप्ति बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज शुक्रबार वार सम्पन्न भएको छ ।
द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको लगत संकलन तथा पुर्नस्थापनाका लागि स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मुखियाले हरवा चरवाको लगत संकलन तथा पुर्नस्थापनाका लागि बजेट ल्याउन आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै उहाँले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डानेश्वरी नगरपालिकाका उपप्रमुख मिरादेवी यादवले हरवा चरवाहरुको पुर्नस्थापना, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि योजनाबद्व रुपमा अघि बढ्नुपर्ने बताउनुहुँदै हरवा चरवा परिवारले आफ्नो बच्चालाई शिक्षित बनाउने तर्फ आफुहरु गम्भीर रहेको बताउनुभयो ।
गत २०७९ साउन २ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हरवा चरवा मुक्त घोषणाा भएपनि पुर्नस्थापना र रोजगारीको योजना बनाउन नसकेको प्रति उहाँले दुख व्यक्त गर्नुभयो ।
कार्यक्रममा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीका टिम लिडर बिनोदानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिका हरवा चरवा नगर संजालका अध्यक्ष मधु सदाले नगरपालिकाको हालै सम्पन्न नगरसभाले हरवा चरवाहरुको सबाललाई सम्बोधन नगरेको भन्दै बजेट बिनियोजन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष भागेश्वर यादवले हरवा चरवाको उत्थानका लागि सरकारी तथा गैर सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
श्रीुपर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता बिजली रामद्वारा संचालित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले जिल्लाको बोदे बर्साईन नगरपालिका सहित रुपनी गाउँपालिका शम्भुनाथ नगरपालिका र डाक्नेश्वरी नगरपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




















