राजविराज, १२ असार । सप्तरीको बोदे बर्साइन नगरपालिकामा हरवा चरवा पुर्नस्थापनाका लागि लक्षित कार्यक्रम सम्बन्धि कार्यपालिकासँग छलफल कार्यक्रम सोमवार सम्पन्न भएको छ । 

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीद्वारा नगरसभाहलमा आयोजित कार्यक्रममा बक्ताहरुले भुमिहिन सुकुम्बासी हरवा चरवाहरुको पुर्नस्थापनाका लागि तीनै तहको स्थानीय सरकारले योजना तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । 

हरवा चरवा बोदे बर्साइन नगरसञ्जालका संयोजक बुधेश्वर सदाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदे बर्साइन नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष रामप्रसाद रामले हरवा चरवाहरुको पुर्नस्थापयना, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि तीन वटै तहका सरकारले योजनाबद्व रुपमा अघि बढ्नुपर्ने बताउनुहुँदै  हरवा चरवा परिवारले आफ्नो बच्चालाई शिक्षित बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

 २०७९ साउन २ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट हरवा चरवा मुक्त घोषणाा भएपनि पुर्नस्थापना र रोजगारीको योजना बनाउन नसकेको प्रति उहाँले दुख व्यक्त गर्नुभयो । 

प्रधानमन्त्रीबाट भएको हरवा चरवा मुक्तिको घोषणालाई कार्यान्वयनका लागि आफ्नो नगरपालिका प्रतिबद्ध रहेको बताउनुहुँदै यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो  । हरवा चरवाहरुको पुर्नस्थापना र उहाँहरुको भावी सन्ततिको उज्वल भबिष्यका लागि सबै पक्षले ठोस योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुहुँदै उहाँले हरवा चरवामाथि कुनै किसिमको बिभेद हुन नदिन प्रतिबद्धता व्यक्त गर्नुभयो । 

    कार्यक्रममा राष्ट्रिय दलित आयोगका पुर्व सदस्य बौवालाल शर्मा खत्बेले कही बाटो बनाउने नाममा त कही जग्गा खाली गराउने नाममा हरवा चरवा भुमिहिनहरुलाई उठिबास गराउने काम भईरहेको भन्दै  पहिले सुरक्षित बासको सुरक्षित गरेमात्र हरवा चरवा भुमिहिन सुकुम्बासीको घर भत्काउन आग्रह गर्नुभयो । 

कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी सदाले बर्षाैदेखि बस्दै आएको जग्गा  खाली गराउन मुद्दा हालेपछि हरवा चरवा परिवार उठिबासको समस्यामा परेको दुखेसो पोख्नुभयो । 

हरवा चरवा परिवारका अनिता सदाले पछिल्लो समय हरवा चरवा परिवार उठिबासको समस्यामा पर्दा पनि जनप्रतिनिधिको त्यसतर्फ ध्यान नदिएको बताउनुभयो । 

हरवा चरवाहरुलाई स्वरोजगार कार्यक्रममा समेट्न आग्रह गर्नुहुँदै विना पुर्वाग्रही सेवासुबिधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

श्रीुपर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालु प्रसाद राम द्वारा संचालित हरवा चरवा परिवारको आर्थिक उन्नति र सशक्तिकरणका लागि द फ्रिडम फण्डको सहयोगमा जिल्लाको बोदे बर्साईन नगरपालिका सहित , रुपनी गाउँपालिका शम्भुनाथ नगरपालिका र  डाक्नेश्वरी नगरपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।