लहान, ४ माघ । बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले आयोजना गरेको निःशुल्क स्वास्थ्य परिक्षण शिबिरमा ३०० जना चालक तथा सहचालकहरुले जाँच गराएका छन् । 

यातायात व्यवस्था कार्यालय लहान सिरहा र उषा इन्टरप्राईजेज लहानको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय लहान सिरहाद्वारा लहानमा आयोजित निःशुल्क स्वास्थ्य परिक्षण तथा सबारी साधनहरुको यान्त्रिक चेकजाँच शिबिरमा चालक तथा सहचालकहरुले रक्तचाप तथा मधुमेह रोगको जाँच गराएका हुन् ।

शिबिरमा ३०० जना चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गर्नुको साथै २०० सबारी साधनहरुको यान्त्रिक परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै लहान नगरपालिका ३ स्थित माँ धमिनी हस्पीटल प्रालिको सौजन्यमा भएको शिबिरमा बिशेषज्ञहरुले चालक र सहचालकहरुको जाँच गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।  

शिबिरको उद्घाटन गर्नुहुँदै मधेस प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रमुख प्रहरी उपरिक्षक सन्तोष कुमार भट्टराईले बढ्दो सबारी दुर्घटना न्यूनिकरण गर्न र सचेतना जगाउन स्वास्थ्य परिक्षण र यान्त्रिक परिक्षण आयोजना गरिएको बताउनुभयो ।

नीजि तथा सार्वजनिक सबारी चालकहरुलाई आँखा, रक्तचाप, बढ्दो सबारी दुर्घटना र सही ड्राईभर एटिच्यूटको बिषयमा चालकहरुलाई सचेतना समेत दिईरहेको जनाएको छ । 

शिबिर उद्घाटन कार्यक्रममा लहान नगरपालिकाका नगरप्रमुख महेश चौधरीको समेत उपस्थिति रहेको थियो ।