वीरगञ्ज, २० माघ । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकहरुमाथि कानुनी प्रक्रियाबाट बक्यौला असूली गर्ने भएको छ ।
धाराको पानी उपभोग गर्ने तर महसुल नबुझाउने परिपाटी बढ्दै
गएपछि संस्थानले पहिलो चरणमा रु. ५० हजार भन्दा बढी बक्यौता राख्ने ५४२ जना ग्राहकहरुको नाम कालोसूचीमा राखेर प्रकाशन गरेको छ । कालोसूचीमा रहेका ग्राहकले बक्यौता बुझाउन आलटाल गर्दै आएपछि संस्थानले कानुनी प्रक्रियाबाटै भएपनि बक्यौता असूली गर्ने तयारी गरेको हो ।
संस्थानले ग्राहकहरुबाट रु. १२ करोड २५ लाख ७९ हजार ९९ बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । संस्थानले एउटै ग्राहकबाट रु. १ लाख भन्दा बढी सम्म बक्यौता उठाउनुपर्ने देखिएकाले कालोसूचीमा राखेर सूची प्रकाशन गर िधाराको लाईन काटेरै भएपनि बक्यौता असुल गर्ने योजना बनाएको संस्थान वीरगञ्जका प्रमुख निरण महर्जनले जानकारी दिनुभयो ।
सो संस्थानका अनुसार खानेपानी उपभोग गरे बापतको महशुल नबुझाउनेहरुमा पूर्व मन्त्री, पूर्व न्यायधीस, उद्योगी व्यवसायी, समाजसेवी, विभिन्न दलका नेताहरु, कर्मचारी प्रशासकहरुको नाम समेत रहेको संस्थानका प्रमुख महर्जनले बताउनुभयो ।
खानेपानीको महशुल नतिर्नेको सूचीमा रहेका व्यक्तिहरुको नाम स्थानीय तहका वडा वडामा टाँस गरिएको र पटक पटक स्थानीय पत्रिकामा समेत सार्वजनिक गर्दा पनि अझै बक्यौता रकम उठाउन नसकिएको प्रमुख महर्जनको भनाई छ ।
वीरगञ्ज महानगरपालिका भित्र खानेपानी संस्थानका ७ हजार ५०० ग्राहक रहेकोमा ६ हजारले महशुल तिरिरहेको तर पुरानो बक्यौताको रकम उठाउन नसकिएको महर्जनको भनाई छ । उहाँले ताकेता गर्दा समेत रकम उठाउन नसक्ने भएपछि कानुनी प्रक्रियाबाट रकम असुल गर्ने अवस्थामा संस्थान पुगेको बताउनुभयो ।
विद्यमान खानेपानी संस्थानको ऐन परिमार्जन गरेर पानी महशुलको रकम नतिर्ने व्यक्तिहरुको नाउँ कर्जा सूचना केन्द्रमा कालो सूचीमा राखी बैकिङ कारोवार रोक्ने गरी कानुन परिमार्जनको तयारीमा मन्त्रालय रहेको प्रमुख महर्जनको भनाई छ ।
महशुल असुल सम्वन्धी अब बन्ने ऐनमा स्थानीय तहले दिने सिफारिस र मालपोतमा घर जग्गा रजिष्ट्रेशन पास गर्दा अनिर्वाय पानीको महशुल तिरेको बिल पेश गर्नुपर्ने कानुनी प्रावधान भए मात्र पुरानो महशुल उठाउन सकिने उहाँले बताउनुभयो ।




















