जनकपुरधाम, २६ असार । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मगही भाषाको संरक्षण र सम्बद्र्धनको सबाललाई अभियानको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । 

मगही अकादमी (गया) विहार, मगही लोक तूतवाडी, गायाद्वारा होटल सुकदेव प्यालेस मानपुर गायामा आज आयोजित अन्तर्राष्ट्रिय मगही सम्मेलन तथा डा. रामप्रसाद सिंह साहित्य पुरस्कार समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री साहले पछिल्लो समय मगही भाषामाथि अतिक्रमण हुने क्रम बढ्ेकाले संरक्षण र सम्बद्र्धनका लागि अभियान चलाउनुपर्ने बताउनुभयो । 

“कुनै समुदायलाई कमजोर गर्नुछ भने सबै भन्दा पहिला ती समुदायको भाषामाथि आक्रमण हुन्छ, त्यसपछि संस्कृति र भेषभूषालाई कमजोर पार्ने काम गरिन्छ”, मन्त्री साहले भन्नुभयो,“नेपालमा पनि मगही भाषालाई कमजोर पार्ने काम भईरहेको छ र भारतमा पनि त्यही अवस्था छ ।” त्यसैले नेपाल र भारतका अभियानीहरुले मगही भाषाको संरक्षण र सम्बद्र्धनका लागि अभियान चलाउनुपर्छ, उहाँको भनाई थियो । 

नेपालमा हालै भएको राष्ट्रिय जनगणनामा मगही भाषाको संख्यालाई कम देखाई कमजोर बनाउन राज्यका तर्फबाट ठुलो चलखेल भएको आरोप लगाउनुहुँदै मन्त्री साहले भारतमा हुने जनगणनाका बेला मगही भाषा अभियानीहरु सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

बिरबहादुर महतोको अध्यक्षतामा आयोजित सो कार्यक्रममा महगी भाषाका अभियानीहरु, सरोकारबाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।