रौतहट, २४ असार । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । 

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आज आयोजित जनयुद्धका शहिद÷मृतक परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले शहिद परिवारलाई आर्थिक सहयोगसँगै सम्मान गरिरहने बताउनुभयो ।  

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको जानकारी दिनुहुँदै मन्त्री साहले शहिदहरुको इतिहासलाई सुरक्षित गर्न र शहिद परिवारको सम्मानका लागि छिट्टै जनयुद्ध संग्रहालय बनाउन लागेकोले यसमा सहयोग गर्न सबै आग्रह गर्नुभयो ।

उहाँले गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग समेत गर्दै आएको बताउनुभयो । 

कार्यक्रममा मन्त्री साहले जनयुद्धका क्रममा रौतहटमा शहिद÷मृत्यु भएका १४० जनाको परिवारलाई प्रमाणपत्र र रु. एक लाखको चेक हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफ्ले लगायतको उपस्थिति रहेको थियो ।