लहान, १७ असार । मधेश प्रदेश सरकारले सिरहामा जनयुद्धका शहिदर मृत्यु भएका ९५ जनाको परिवारलाई रु।एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । 

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेशी शहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री मातृका प्रसाद यादव, मधेश प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शहिद परिवारलाई प्रमाणपत्र र रु। एक लाखको चेक हस्तान्तरण गर्नुभयो । 

जनयुद्धका शहिदर मृतक परिवारलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै माओवादी नेता यादवले जनयुद्धका शहिदलाई संघीय सरकारले उचित सम्मान गर्न नसकेको गुनासो गर्नुभएको छ । 

जनयुद्धकै बलमा मुलुकमा परिवर्तन आएपनि संघिय सरकारले जनयुद्धका शहिदलाई अझै शहिदको रुपमा स्वीकार्न तयार नरहेको बताउनुहुँदै नेता यादवले शहिद घोषणा गराउन संघर्ष गर्नुपर्ने बताउनुभयो । 

उहाँले संघिय सरकारले जनयुद्धका शहिदलाई सम्मान गर्न नसकेपनि मधेस प्रदेश सरकारले जनयुद्ध दिवस र शहिद परिवारलाई सम्मान तथा आर्थिक सहयोग गर्नु स्वागतयोग्य कार्य भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री साहले शहिद परिवारलाई सम्मान गर्न प्रदेश सरकारले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभयो । 

प्रदेश सरकारले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका शहिद परिवारलाई भरणपोषण गर्न मासिक भता र शहिद परिवारका छोराछोरीलाई छात्रबृति दिन लागेको जानकारी दिनुभयो । 

गरिब, बिपन्न परिवारका बिरामीहरुलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको बताउनुहुँदै मन्त्री साहले जल बिधुत आयोजनामा शहिद परिवारलाई शेयर सदस्य बनाउने योजना बनाउन लागेको बताउनुभयो ।  

जनयुद्धका शहिदहरुको इतिहासलाई सुरक्षित गर्न र शहिद परिवारको सम्मानका लागि जनयुद्ध संग्रहालय बनाउने योजना बनाएको जानकारी दिनुहुँदै उहाँले यसका लागि प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटमा रकम बिनियोजना गराउने बताउनुभयो ।