राजविराज, ६ चैत । संयुक्त अनुगमन टोलीले राजविराजस्थित बिभिन्न पसलहरुबाट म्याद गुज्रेको खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाई घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले केही दिनअघि राजविराजका बिभिन्न पसलहरुमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।
अनुगमनका क्रममा बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रेको मैदा, बेसन, तेल, बिस्कुट लगायतका खाद्य पदार्थहरु फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो ।
यस्तै अरहम एक्वा जारको पानीमा नेकसिशल लेबल नभएको पाइएपछि ७ वटा जार पानी समेत नष्ट गरिएको प्रमुख सिंहको भनाई छ ।
अनुगनका क्रममा कतिपय व्यवसाय दर्ता नभएको, भ्याट बिल, पान बिल, मूल्यसूचि र सरसफाई नभएको फर्महरु समेत भेटिएकोले त्यस्ता व्यवसाय दत्र्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिईएको प्रमुख सिंहले बताउनुभयो ।
बजार अनुगमनका क्रममा फेला परेको ८ किसिमको समानको गुणस्तरीयता नाप जाँचका लागि नमुना समेत सङ्कलन गरिएको र ती नमुना परिक्षणका लागि बिराटनगर पठाउने तयारी भईरहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।