जनकपुर,फाल्गुन १५ गते । मधेस प्रदेशको राजधानी जनकपुरमा दुधको मूल्यमा एकरुपता पाइँदैन । बजारमा फरक–फरक मूल्यमा दुध पाइने गरेको उपभोक्ता बताउँछन् । व्यापारीहरुले मूल्यमा एकरुपता नदेखिनुमा गुणस्तर र शुद्धता मुख्य कारक रहेको तर्क गर्दै आएका छन् । बढी मूल्यमा दुध बेच्दै आएका व्यवसायीले आफूहरुले शुद्ध दुध बेच्ने गरेको दाबी गर्दै आएका छन् भने तुलनात्मक रुपमा केही सस्तोमा दुध विक्री गर्दै आएका व्यवसायीहरु भने बजारमा पानी नमिसाएको दुध नै नपाइने दाबी गर्दछन् ।
जतिसुकै मूल्य तिरे पनि शुद्ध दुध नपाइने महोत्तरी गाउँपालिका वडा नम्बर १, पर्सा बस्ने सर्वोत्तम ठाकुर बताउँछन् । उनले भने, ‘दुध बेच्नेले ८० रुपैयाँमा शुद्ध दुध दिन्छौँ भन्छन्, तर ८० रुपैयाँ त के, त्योभन्दा बढी रुपैयाँ दिए पनि दुधमा पानी मिसाइएकै हुन्छ ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ स्थित मनहपुरका दुध व्यापारी ब्रम्हदेव मण्डलको भनाइ फरक छ । ‘म लगभग एक दशकभन्दा बढी समयदेखि दुध बेच्दै आएको छु, तर कसैले आजसम्म पानी मिसाएको दुध भनेर गुनासो गरेका छैनन्’, उनले भने, ‘तर पानी मिसाईएको दुध बजारमा बेचिँदैन भन्ने कुरा अस्वीकार गर्न सकिन्न ।’ आफूले प्रतिलिटर ८० रुपैयाँमा शुद्ध दुध विक्री गर्दै आएको उनको भनाइ छ ।
सरकारले केही वर्ष अघि दुध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न निर्देशिका समेत जारी गरेको थियो । निर्देशिका मुलुकभरका दुध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुने उल्लेख छ ।
निर्देशिकाअनुसार दुध उत्पादक किसानले पशु चौपायाको स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दुध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्ने छ । दुध दिने जनावर स्वस्थ हुनुपर्ने, दुध दुहुनु अघि साबुनपानीले राम्ररी हात धुनुपर्ने, हातमा घाउ चोट तथा खटिरा नभएको तथा संक्रामक रोग नलागेको हुनुपर्ने, गोठ सफा सुग्घर राख्नुपर्ने, दुध दुहुने भाँडो सजिलै सफा गर्न सकिने र ठूलो मुख भएको र स्टेनलेस स्टिल वा अल्मुनियमको हुनुपर्ने सो निर्देशिकामा उल्लेख छ ।
तर प्रतिलिटर ७० देखि ८० रुपैयाँसम्ममा खरिद गरिएको दुधमा दुधभन्दा बढी पानी मिसाइएको सहजै पत्ता लगाउन सकिने जनकपुरधाम वडा नम्बर ७ बस्ने गृहिणी शिल्पी झाको भनाइ छ ।
उनी भन्छिन्, ‘पानी मिसाइएको दुध बाध्यतावस् लिनैपर्छ, घरमा स–साना बालबच्चा छन् । स्वस्थ रहनका लागि बालबालिकालाई दुध आवश्यक भएकै कारण जस्तोसुकै भए पनि लिनैपर्छ ।’
यता भैँसीको दुधबाटै आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका महोत्तरी गाउँपालिका वडा नम्बर १ स्थित पर्साका बिराजी कापर दुध कम भएपछि थोरबहुत पानी मिसाउँदै आएको बताउँछन् । उनले भने, ‘के गरौँ, दुधको मूल्य ७० देखि ८० भन्दा बढी छैन, यसभन्दा बढी त हामीले पशुको स्याहारका लागि र पौष्टिक आहार खुवाउन खर्च गर्नुपर्ने हुन्छ, जुन शुद्ध दुध बेचेर जुटाउन गाह्रो छ ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ बस्ने दुध व्यवसायी सुजित यादवले प्रतिलिटर ७०र८० भन्दा बढी पैसा दिनसक्ने ग्राहकलाई शुद्ध दुध नै दिने दाबी गरे । उनले भने, ‘एक लिटर दुधमा ७०र८० रुपैयाँ पाइन्छ तर, गाईभैँसीको खानपान, स्याहार सुसारमा उक्त रकमभन्दा अधिक नै खर्च हुने गर्छ । जीविका चलाउन अलिकति बेइमानी गर्नैपर्छ ।’ स्थानीय स्तरमा बिक्री वितरण हुने दुधको दररेट निर्धारण नभएकाले ७० देखि ९० रुपैयाँ प्रतिलिटरसम्म दुध बेच्ने गरेको मनतो देवीले बताउँछिन् ।




















