सिरहा,फाल्गुन ६ गते । निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण भएको सिरहाका प्रमुख निर्वाचन अधिकृत डा.श्रीप्रकाश उप्रेतीले वताउनु भयो । 

आज आयोजित सिरहाको लहानमा राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा उहाँले “निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सञ्चार क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नु भयो  ।

सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै निर्वाचनको समयमा सामाजिक सञ्जाल र अनलाइन माध्यमबाट फैलिन सक्ने भ्रामक सूचना नियन्त्रण गर्न सञ्चारकर्मीहरू सचेत हुन आग्रह गर्दै मतदातालाई सही सूचना दिनुपर्ने उहाँले जोड दिनु भयो ।

अन्तरक्रियामा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिताको पालना सबै राजनीतिक दल, उम्मेदवार तथा सञ्चार संस्थाले समान रूपमा गर्नुपर्ने धारणा राखेका थिए । उनीहरूले सञ्चार माध्यमले आचारसंहिताबारे जनचेतना अभिवृद्धि गर्न विशेष भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।