सिरहा, पुस २२ गते । थारुको राष्ट्रिय पर्व माघीमहोत्सवको अवसरमा सिरहाको लहान नगरपालिका वडा नं. २२ स्थित बर्छवा धाँती फुटबल खेल मैदानमा आयोजना गरिएको १५ औँ पञ्च शिल्ड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब उदयपुरले भिमवान फुटबल क्लब फतेपुर लाई २–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको मलिथम फुटबल क्लबले उत्कृष्ट टिमवर्क र अनुशासित खेल प्रदर्शन गर्दै विपक्षी टिममाथि दबाब सिर्जना गरेको थियो । खेलको पहिलो हाफमै मलिथमले दुई महत्वपूर्ण गोल गर्दै अग्रता बनाएको थियो । ती गोलहरूले भिमवान फुटबल क्लबलाई खेलमा फर्किन कठिन भएको थियो । दोस्रो हाफमा भिमवानले गोल फर्काउने प्रयास गरे पनि मलिथमको सुदृढ रक्षा पंक्तिका कारण सफल हुन सकेन ।

vlcsnap-2026-01-06-17h22m32s025

आयोजकका अनुसार मलिथम फुटबल क्लबले खेलभरि संयमित र रणनीतिक खेल प्रदर्शन गर्दै सहज जित हात पारेको हो । खेलाडीहरूबीचको तालमेल, तीव्र आक्रमण र सशक्त रक्षा पंक्तिले मलिथमलाई उद्घाटन खेलमै विजयी बनाएको छ ।

श्री बर्छवा सामुदायिक युवा मञ्च, लहान–२२ को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा विभिन्न जिल्लाबाट आएका १० वटा फुटबल क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिता पुस २२ गतेदेखि सुरु भई माघ ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका खेलहरू स्थानीय खेलप्रेमीहरूका लागि आकर्षणको केन्द्र बनेका छन् ।

प्रतियोगिताको फाइनल खेलमा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसले स्थानीय खेलाडीहरूलाई अझ राम्रो प्रदर्शन गर्न प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

vlcsnap-2026-01-06-17h22m47s055

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा लहान नगरपालिका वडा नं. २२ का वडा अध्यक्ष श्याम कुमार अधिकारी थारु को उपस्थिति रहेको थियो । उहाँले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै युवालाई कुलतबाट टाढा राखी खेलकुदतर्फ आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, युवा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दर्शकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगितालाई थप रौनक प्रदान गरेको आयोजकले जनाएको छ । माघीमहोत्सवको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षणसँगै खेलकुदको प्रवद्र्धनमा पनि सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।