सिरहा, भदौ २७ गते । जेनजीको प्रदर्शन, आगजनी तथा तोडफोडको क्रममा सिरहामा भएको क्षतिको विवरण सम्बन्धित कार्यालयहरुले आजदेखि शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले विहीबार आगजनी तथा तोडफोडको क्रममा भएको क्षति विवरण २९ गतेभित्र गरिसक्ने कार्यालयहरुलाई पत्राचार गरेपछि आजदेखि सो कार्य शुरु भएको हो ।
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाका अनुसार लहान नगरपालिकामा धेरै क्षति भएको कारण सम्पूर्ण विवरण संकलन गर्न केही समय लाग्ने वताउनुभयो ।
सिरहा जिल्लामा स्थानीय तह लहान, सिरहा, गोलबजार, धनगढी, नरहा, मिर्चैया लगायतका एक दर्जन बढी र सरकारी अड्डाहरु सिरहा जिल्ला अदालत, डिभिजन वन कार्यालय, शिक्षा समन्वय इकाई, यातायात, कर कार्यालय, मालपोत, नापी, गोलबजार नगरपालिका लगायतका कार्यालयहरुमा आगजनी, तोडफोड भएका थिए ।
स्थानीय तह तथा सरकारीहरुमा भएको आगजनी, तोडफोड तथा भौतिक संरचना ध्वस्त भएका कारण आगजनी तथा तोडफोडमा परेका सिरहाका कार्यालयहरु अझै केही दिन संचालन आउन नसक्ने वताइएको छ ।




















