सिरहा,भाद्र २७ गते । दुई दिन चलेको जीनजीको प्रदर्शन, तोडफोड र आगजनीले सम्भवतःसिरहामा सबैभन्दा बढी लहान नगरपालिकामा क्षति पुगेको छ ।
जीनजीको प्रदर्शन तथा आगजनीले करोडौका भवन काम नलाग्ने भएको छ भने नगरपालिकाको महत्वपूर्ण कागजात, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, एसी. लगायतका सामानहरु तोडफोड तथा आगजनीले नष्ट भएको जिन्सी प्रमुख भवानीलाल चौधरीले उल्लेख गर्नुभयो ।

कार्यालयका भवन, फर्निचर, सरसामान, कागज श्रेस्ताहरु सबै जलेर नष्ट भएका कारण खण्डहर बनेका नगरपालिकाका कार्यालय सुचारु हुन अनिश्चित भएको छ । कार्यालय संचालन भए पनि खोजेको श्रेस्ताहरु पाउन मुश्किलका कारण सेवाग्राही मारमा पर्ने वताइएको छ ।
लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाका अनुसार २४ वटै वडाका महत्वपूर्ण कागजात लगायत नगरपालिकामा रहेका सबै श्रेस्ता, भवन, फर्निचर, ईक्वीपमेन्ट जलेका कारण अर्को व्यवस्था नहुन्जेलसम्म कार्यालय संचालन हुन नसक्ने वताउनुभयो ।






















