सिरहा,बैशाख २ गते । सिरहाको लहानबजारबाट करीव ४ किलोमिटर पश्चिममा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको सलहेश फुलबारीमा आजको दिन मात्र फूल्ने अनौठो स्वभावको माला आकारको फूलले सबैको ध्यानाकर्षण गराएको छ ।
प्रत्येक बर्ष बैशाख १ गते मात्र फुलबारीमा रहेको सलहेश मन्दिर अगाडि रहेको हारमको बोटमा अलौकिक रुपमा फुल्ने फुल हेर्न देश विदेशबाट आएका आगन्तुक भक्तजनका लागि अवलोकन गर्ने मुख्य आकर्षण बनेको हो ।
१४ औं शताब्दीका प्रतावपी राजा सलहेशको प्रेमिका कुस्मा मालिनीको प्रेम विछोडको स्थलको रुपमा समेत चिनिने यो स्थलमा आजकै दिन मात्र माला आकारमा फुल्ने फुल उनीहरुको प्रेम प्रतिकको रुपमा रहेकोे किम्वदन्तिमा उल्लेख छ ।
राजा सलहेश र उनकी प्रेमिका मालिनी बीचको प्रेम विवाहको लागि प्रसिद्ध रहेको सलहेश फुलबारीमा प्रेम विवाह गर्दा दामपत्य जीवन सफल हुने र भाकल गरे मनोकामना पूरा हुने धार्मिक विश्वास समेत रहि आएकोले समेत फुलबारी मेलाले प्रसिद्धि कमाएको छ ।
ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको सलहेश फुलबारीलाई सम्बन्धित निकायको उदासिनताको कारण चाहेजति संरक्षण, सम्बर्धन हुन नसक्दा यसको महत्व ओझेलमा पर्दै स्थानीयको गुनासो रहेको छ ।