मकवानपुर, २७ चैत ः बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात क्षेत्रको राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्ने गरी व्यवस्थ ागर्न लागिएको बताउनुभएको छ । 

बागमती प्रदेशको यातायात क्षेत्र सम्बन्धी सेवा प्रवाहका सम्बन्धमा नियमित अनुगमनका क्रममा यातायात व्यवस्था कार्यालय हेटौंडाको निरीक्षण गर्नुहुँदै मन्त्री महर्जनले सेवाग्राहीले बैंकमा लाईन बसेर दस्तुर एवं कर दाखिला गरिसके पछि पनि पुनः रसिद काट्न कार्यालयमा लाईन बस्नु पर्ने बाध्यतालाई अन्त्य गर्ने गरी कानूनी व्यवस्था सुधारका काम भईरहेको बताउनुभयो । 

विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ निर्माण गरिसकेकोले यातायात क्षेत्रको भुक्तानी प्रणाली विद्युतीय माध्यमबाट हुने जानकारी दिनुभयो ।

मन्त्री महर्जनका अनुसार मन्त्रालयको वेवसाइडबाट आफ्नो सवारीको विवरण आफूले नै अद्यावधिक गरी बिल बुक नवीकरण लगायत सवारी कर तिर्न सकिनेछ । 

प्रदेश सरकारले नागरिक एप मार्फत सवारी चालक अनुमती पत्र देखिने व्यवस्था गरिसकेको त्यसको पूर्ण रूपमा कार्यान्वयनमा रहेको जानकारी दिनुहुँदै मन्त्री महर्जनले सवारी चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको ड्राइभिङ्ग लाइसेन्स सूचना प्रणाली अन्तर्गतको क्यू आरबाट ट्राफिक प्रहरीले जरिवाना गर्ने गरी व्यवस्था मिलाईएको बताउनुभयो । 

आगामी दिनमा बागमती प्रदेश सरकारले ड्राइभिङ् लाइसेन्स सम्बन्धी आवेदन लगायतका अन्य सेवाहरू राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी अनलाईन प्रणाली मार्फत सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ प्रणाली विकास गरिरहेको र यससँग सम्बन्धी कार्यविधि निर्माणको अन्तिम चरणमा पुगेको मन्त्री महर्जनको भनाई थियो ।  

निरीक्षणका क्रममा मन्त्री महर्जनले कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो । 

निरीक्षणका क्रममा मन्त्री महर्जनलाई यातायात व्यवस्था कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रबीण श्रेष्ठले सेवाग्राहीको गुनासो एवं जिज्ञासा सान्दर्भिक रहेको र कार्यालयले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली लगायत अन्य प्रचलित कानुन अनुसार कार्य सम्पादन गर्नु पर्ने वाध्यता रहेको कारणले पनि सेवा प्रवाहमा समय लाग्ने गरेको जानकारी दिनुभयो ।