सिरहा, भदौ, २४ गते । सिरहामा कफ्र्यू आदेशका बाबजुद पनि युवा विद्यार्थी (जीनजी) हरुले आगजनी र तोडफोडमा उत्रिएका छन् । जीनजीको प्रदर्शनी र आजगनी तथा तोडफोडले सिरहा अशान्त बनेका छन् ।
प्रदर्शनकारीहरुले गोलबजार नगरपालिका, सिरहा नगरपालिका, धनगढीमाई नगरपालिका, लहान नगरपालिका लगायतका एक दर्जन स्थानीय तहका कार्यालयहरुमा तोडफोड गरी सवारी साधनहरुमा आगजनी गरेका छन् भने लहानस्थित मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय, डिभिजन वन कार्यालय लगायत सिरहाका सबै जसो सरकारी कार्यालयहरुमा आगजानी तथा तोडफोड गरेका छन् ।

ईलाका प्रहरी कार्यालय लहानमा जीनजी समर्थकहरुले आगो लगाउन जाँदा प्रहरीले दर्जनौ राउण्ड हवाई फायर गरेको छ । भागदौडको क्रममा आधा दर्जनभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार स्थानीय स्वास्थ्य चौकी र क्लिनिकमा उपचार भइरहेको वताइएको छ ।

युवा विद्यार्थीहरुको प्रदर्शनबाट हुन सक्ने सुरक्षा चुनौतिलाई विश्लेषण गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज मंगलबार दिउँसो १ बजेदेखि अर्को आदेश नआउन्जेलसम्मका लागि जिल्लाको मिर्चैया, गोबजार, लहान र सिरहा नगरपालिका लगायत संवेदनशील क्षेत्रभित्र अनिश्चिकालीन कफ्र्यू आदेश जारी गरेको छ ।





















