सिरहा,माघ २६ गते । सिरहा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले भ्रष्टाचारविरुद्ध र सुशासनका अभियानलाई निरन्तरता दिन नपाएको कारण देशमा असन्तुष्टि बढ्दै गएको र त्यसैको परिणामस्वरूप “जेन्जी आन्दोलन” जस्तो आन्दोलन जन्मिएको वताउनुभयो ।
आज सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ८ को वडा स्तरीय चुनावी भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले अबको निर्वाचन केवल सामान्य चुनाव नभई देश बचाउने कि नबचाउने, संविधान र लोकतन्त्र जोगाउने कि गुमाउने तथा सुशासन र समृद्धितर्फ जाने कि असफल राज्यतर्फ धकेलिने भन्ने निर्णय गर्ने चुनाव भएको वताउनुभयो । उहाँले राष्ट्रिय स्वाधीनता, संविधान–लोकतन्त्रको रक्षा र सुशासन–समृद्धि–सामाजिक न्यायलाई निर्णायक मुद्दा बनाउँदै पार्टीलाई जिताउन आग्रह गर्नुभयो ।

उहाँले सामाजिक–आर्थिक रूपान्तरणको यात्रामा सबैभन्दा ठूलो बाधा भ्रष्टाचार, दलाली र राज्य दोहनको प्रवृत्ति रहेको आरोप लगाउनुुहुँदै उहाँले भ्रष्टाचारविरुद्ध ठूलो अभियान नचलाई, कानुनी शासन कायम नगरी राष्ट्रिय पुँजी, उद्योगधन्दा र रोजगारीको विकास सम्भव नभएको जिकिर गर्नुभयो । विद्यमान समस्यालाई समाधान गर्नको निमित्त हो हल्लाको पछाडि नलागी नेपाल कम्युनिष्ट पार्टीका नेता मुक्ति नारायण सिंह र पार्टीका चिन्ह पाँचकुने तारामा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य उत्तर बहादुर जर्घा मगर, सिरहा निर्वाचन क्षेत्रका उम्मेद्वार मुक्ति नारायण सिंह (कुशवाहा), धनगढीमाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।



















