सिरहा,माघ २७ गते । सोमबार बिहान ११ बजे गोप्य सूचनाका आधारमा गरिएको विशेष सर्च अपरेसनका क्रममा सिरहा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक लाख २० हजार रुपैयाँ नगद बरामद गरिएपछि नाइके यादवलाई कारागारबाट हटाएपछि कैदी बन्दीहरु आन्दोलित भएका छन् ।
कारागारको छतमाथि बसेर उनीहरुले जेलर र स्थानीय प्रशासनको विरुद्ध र नाइके यादवको फिर्ताको माग गर्दै अहिले पनि नाराबाजी गरिरहेका छन् । संभावित घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कारागार वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनको वाक्लो उपस्थितिको कारण अहिले कारागारको स्थिति सामान्य वन्दै गएको छ ।
सिरहा कारागार अशान्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक कारागार परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको उपस्थितिमा सुरक्षा समितिको बैठक बसिरहेको वताइएको छ । कारागारको समग्र सुरक्षा अवस्था, कैदीद्वारा गरिएको विरोध प्रदर्शन तथा त्यसको नियन्त्रणका उपायबारे छलफल भइरहेको र निर्णय पश्चात् आधिकारिक जानकारी दिने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले वताउनुभयो ।
कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट उक्त सामाग्री तथा नगद फेला परेपछि स्थानीय प्रशासनले यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका कैदीमध्ये एक जनाको सोही दिन छुट्ने समय भएकाले रिहा गरिएको र बाँकी १२ जनामध्ये सात जनालाई नुवाकोट कारागार, तीन जनालाई काठमाडौं केन्द्रीय कारागार र दुई जनालाई रौतहट कारागार पठाइएको कारागार प्रशासनले जनाएको छ ।
एक सय पचास जना कैदी राख्ने क्षमता मात्र रहेको सिरहा कारागारमा हाल विभिन्न मुद्दाका चार सय ३६ कैदी बन्दी रहेको छ ।



















