प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सिरहा जिल्ला मा चुनावी चहलपहल तीव्र बनेको छ। जिल्लाका शहर, गाउँ तथा टोल–टोलमा विभिन्न राजनीतिक दलका झण्डा र ब्यानरले सजिएका छन् भने उम्मेद्वारहरू मतदातालाई आकर्षित गर्न घरदैलो तथा चुनावी अभियानमा व्यस्त देखिएका छन्।
४ क्षेत्रमा १३९ उम्मेद्वार मैदानमा
सिरहामा रहेका चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी कुल १३९ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन्।
क्षेत्र नं. १ मा ३२ जना
क्षेत्र नं. २ मा २९ जना
क्षेत्र नं. ३ मा ४१ जना
क्षेत्र नं. ४ मा ३७ जना उम्मेद्वार चुनावी मैदानमा छन्।
निर्वाचन नजिकिँदै जाँदा उम्मेद्वारहरूले मतदातालाई आफ्नो पक्षमा पार्न प्रचारप्रसारलाई तीव्रता दिएका छन्। गाउँ–गाउँमा कोणसभा, घरदैलो कार्यक्रम र भेटघाटलाई निरन्तरता दिइएको छ।
सुरक्षा व्यवस्था कडा
चुनावी गतिविधि बढेसँगै संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरी जिल्लाभर सुरक्षा निगरानी बढाइएको छ।
४ लाख ५३ हजार मतदाता, ५३१ मतदान केन्द्र
सिरहामा कुल ४ लाख ५३ हजार मतदाता रहेका छन्। चारवटा निर्वाचन क्षेत्रका लागि ५३१ मतदान केन्द्र तोकिएका छन्।
क्षेत्र नं. १ मा १३०
क्षेत्र नं. २ मा १३६
क्षेत्र नं. ३ मा १३६
क्षेत्र नं. ४ मा १२९ मतदान केन्द्र कायम गरिएको छ।
मतदातामा अझै द्विविधा
विगतका निर्वाचनको तुलनामा यसपटक मत सर्वेक्षणको अवस्था फरक देखिएको छ। धेरै मतदाताले अन्तिम निर्णय गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्। यसकारण कुन पार्टीले बाजी मार्ला भन्ने स्पष्ट आकलन गर्न कठिन देखिएको छ।
निर्वाचनमा अझै केही दिन बाँकी रहेकाले सिरहाका चारै क्षेत्रमा कसको पोल्टामा जित पर्ला भन्ने टुंगो भने मत परिणामले नै लगाउनेछ।




















