सिरहा, फाल्गुन ९ गते । सुरुङ्गा नगरपालिका वडा नं। ७ स्थित समसेरपुरमा सञ्चालित दोस्रो सुरुङ्गा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि टिपटप न्यू डायमण्ड भलिबल क्लब काठमाण्डौं ‘ए’ टिमले जितेको छ ।

तीन सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा ‘ए’ टिमले पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१० अंकसहित लगातार जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।

प्रथम हुने टिमलाई नगद एक लाख एकाउन्न हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । त्यस्तै, सोही क्लबको ‘बी’ टिम द्वितीय हुँदै नगद एक लाख एक हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भयो । तृतीय स्थान हासिल गरेको जनशक्ति भलिबल क्लबलाई नगद एकाउन्न हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वर काठमाण्डौको सहयोग तथा “हामी सखी एक अर्काको लागि” अभियानअन्तर्गत वडा नम्बर ५ द्वारा आयोजित प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि परिषद्का सदस्य सचिव राम चरित्र मेहता र नगर प्रमुख गीता चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सदस्य सचिव मेहताले महिला खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगर प्रमुख चौधरीले पनि नगरपालिकाले महिला खेलकुद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फाल्गुन ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशका विभिन्न स्थानबाट ६ वटा टिमको सहभागिता रहेको थियो ।