सिरहा, माघ १८ गते । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–५ मा स्थित धार्मिक आस्थाको केन्द्र दुदहा भवडीमा आज माघी पूर्णिमाको अवसरमा स्नान गर्ने श्रद्धालु भक्तजनको असंख्य भीड लागेको छ ।
माघी पूर्णिमाको दिन दुदहा भवडीमा स्नान गरी सँगै अवस्थित माँ राजदेवी सातसती मन्दिरमा पूजा–पाठ गरेमा चर्म रोग निको हुने, मनोकामना पूरा हुने तथा निःसन्तान महिलालाई सन्तान प्राप्ति हुने जनविश्वासले स्नान गर्ने श्रद्धालु भक्तजनको असंख्य भीड लागेको छ । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि भवडी परिसर भक्तजनले भरिएको छ ।
पूजारी अन्तिलाल चौधरीका अनुसार दुदहा भवडी तथा राजदेवी सातसती मन्दिरमा पूजा–पाठ गर्न नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेको छ ।
माघी पूर्णिमाको अवसरमा देश–विदेशबाट आउने भक्तजनको घुइँचो लाग्ने भएकाले आजको दिन भवडी परिसरमा मेला समेत लाग्ने गर्दछ ।



















