सिरहा,बैसाख ३ गते । जानकी मन्दिरका महन्त रामतपेश्वर दासले धार्मिक तथा आध्यात्मिक स्थललाई विवादित नबनाउन आग्रह गरेका छन् । जनकपुरधामस्थित जानकी मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा महन्त दासले जनकपुरधामको विशेष दिन जानकी नवमी रहेको बताउँदै उनले धर्म र संस्कृतिको रक्षा र संरक्षणका लागि जानकी मन्दिरले सदैव आफ्नो भूमिका निर्वाह गरेकाले यस पवित्रस्थललाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने बताए ।

जानकी सेनाले जानकी मन्दिर परिसरमा माटोको रामको मूर्ति स्थापना गरी राम नवमी मनाउनका लागि राम मन्दिर नै उपयूक्त ठाउँ रहेको भन्दै महन्त दासले जानकी मन्दिरमा माटोको प्रयोग गरेर रामको मूर्ति नबनाउन आग्रह गरेका थिए ।जिल्ला प्रशासन कार्यालय धनुषाले जानकी मन्दिर परिसरमा कुनै पनि सार्वजनिक कार्यक्रममा गर्नमा बन्देज लगाएको छ ।

महन्त दासले जानकी मन्दिरबाहेक अन्यत्र स्थलमा सो कार्यक्रम गर्न आग्रहसमेत गरे । उनले जानकी मन्दिरको बेग्लै पहिचान र जानकीको आफ्नो अस्तित्व रहेकाले त्यसलाई ख्याल गर्न भने । महन्त दासले भने, ‘विना मतलबमा अध्यात्मिक स्थल जानकी मन्दिरलाई विवाद नतानिओस् । यहाँको छुट्टै महत्व छ । यो जानकी स्थल हो ।’यता आइतबार दिनभर जानकी मन्दिरको अगाडि जानकी सेनाले विरोध प्रदर्शन गरेका छन् । जानकी मन्दिरको महन्त दासको विरोधमा प्रदर्शन गरेका छन् ।