वीरगञ्ज, २४ मङ्सिर । पर्सा प्रहरीले गाँजा फडानी अभियानलाई तिब्रता दिएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयहरुले व्यवसायिक रुपमै लागुऔषध गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यस बिरुद्ध अभियान चलाएको हो । 

प्रहरीले सुरु गरेको लागुऔषध गाँजा फडानी अभियान अन्तर्गत एक साताको अबधीमा अबधीमा जिल्लाको बिभिन्न स्थानमा करिब तीन हजार भन्दा बढी गाँजाको बोट फडानी गरेको छ । 

पछिल्लो पटक हिजो मात्रै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको पर्सागढी नगरपालिका ३ झबराहामा स्थानीयहरुले अवैधरूपमा करिब डेढ बिघा जग्गामा लगाएको १२ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाँजा बोट नष्ट गरेको र गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । 

यसअघि गत मङ्सिर १३ गते प्रहरीको टोलीले पर्साको ठोरी गाउँपालिकामा स्थानीयले करिब १० कठ्ठा जग्गामा लगाएको गाँजा खेती फडानी गरेको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक संतोष राईको नेतृत्वमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नम्बर ३ र ४  मा स्थानीयबासीले दश कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको फडानी गरी नष्ट गरेको थियो । 

पर्साको ठोरी, पर्सागढी, बहुदरमाई, पोखरिया लगायतका स्थानहरुमा लागुऔषध गाँजा खेती भईरहेको स्थानियहरुले बताएका छन् । अबैध रुपमा गाँजा खेती फस्टाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको र अन्य स्थानमा पनि गाँजा फडानीलाई निरन्तरता दिईने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।