राजविराज, १३ मंसीर । राजविराजस्थित बिभिन्न विद्यालयमा इन्टरनेट सेवा सम्बन्धी साक्षरता सत्र आयोजना गरिएको छ । 

पुल्चोक इन्जिनियरिङ कलेजको लोकस टोलीसँगको सहकार्यमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले राजविराजस्थित ह्याप्पील्याण्ड उच्च माध्यमिक विद्यालय, दुर्गा मावि, पब्लिक बिन्देश्वरी विद्यालयमा वल्र्डलिङ्क इन्टरनेट एकेडेमी आयोजना गरेको हो ।

डिजिटल साक्षरता, डिजिटल प्लेटफर्महरूसँग परिचितता, इन्टरनेटका आधारभूत कुराहरू बुझ्ने, सफ्टवेयर र हार्डवेयर आवश्यक कुराहरूको बुझाइका साथै ढिलो ब्राउजिङ समस्याहरू र इन्टरनेट समस्याहरूको आधारभूत समस्या निवारण गर्ने उद्देश्यका साथ आयोजना गरिएको वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेड राजविराजले जनाएको छ । 

वल्र्डलिङ्कको कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आयोजना गरिएको सो सत्रमा विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

यस्तै सत्र केही दिनमा जनकपुरधाम, वीरगञ्ज, जलेश्वर लगायत स्थानहरुमा समेत सञ्चालन गरिने जनाएको छ ।